ऐतिहासिक कालदेखि नै इलाम बजारमा रोपाईं जात्रा र बिंगो खेल हुन्थ्यो र भईरहेको छ । श्रावण महिनाको अन्त्य वा भाद्र महिनाको कुनै बिहीबार आयोजना हुने रोपाई जात्रा लिम्बुनेवार राई ब्राम्हणको मात्र नभएर सबै इलामे संस्कृतिमा आधारित भएर मनाईने गरिन्थ्यो र मनाईरहेका पनि छौं । त्यस्तै ईतिहासदेखि चलिआएको हाउजीबिंगो खेल पनि दशैं र तिहारमा धुमधामका साथ मनाउछौं । यि परम्पराहरु इलामको अभिन्न अंग भईसकेको छ । यसको संरक्षण र सम्र्वधन गर्नु हरेक इलामेको दायित्व हो ।
अब यि इलामको प्रमुख दुई पर्वचाडमनोरञ्जन बारेमा कुरा गरौं । इलामलाई चलायमान बनाउने र जिवन्त राख्न यि दुई पर्वको विशेष भूमिका छ । प्रथमतः रोपाई जात्राको इतिहास हेर्ने हो भने यहाँ कुनै जातधर्म वा संस्कृति नहेरी सबै जना एकमुष्ट भएर मनाउदै आईरहेका छौ । त्यस्तै दोस्रोः बिंगो हाउजी, बाहिर रहनु भएका इलामेहरु चाडबाडमा इलाम आउँदा सबैलाई भेट्ने एउटा प्रमुख मनोरजन्ताम्क पर्व मानिआएका हौं यसमा दुई मत छैन ।
अब कुरोको चुरो तर्फ लागौं,
विगतमा सुनगाभा क्लब, सिंहवाहिनी समाज, भालुढुंगा समाजबाट आयोजना हुदै आएको रोपाई जात्रा आर्थिक र सामाजिक कारणले निरन्तरता दिन नसके पछि नेवार समाजले यसलाई निरन्तरता दिएको कुरा कहि कतैबाट छिप्न सक्दैन । कालान्तरमा के सम्म पनि भनियो भने यो नेवारहरुको गाई, लाखे जात्रा जस्तै रोपाई जात्रा हो भनेर । तर इतिहासले के भन्छ भने यो इलामको मौलिक चाड हो, यसको संरक्षण गर्न नेवार समाजले खेलेको भूमिका अमुल्य छ ।
यस्तै, हाउजी वा बिंगो पनि रोपाई जात्रा जस्तै पुरानो इलामको मनोरञ्जनात्मक चौतारी हो । हिन्दुहरुको नौरथा शुरु भए पछि भारतको कोलकाता, सिलगढी, दार्जिलिङबाट हाउजी खेल्ने सामाग्रीहरु खरिद गरेर ल्याए इलामेहरु एकजुट भएर खेल्ने, भेटघाट गर्ने, सुखदुःखका कुरा गर्ने, मौका मिले पुरस्कार पनि पाउने खेल हो ।
तर आज आएर इलामको अवस्था निकै फेरिएको छ । रोपाई जात्रा जस्तो महिमा बोकेको (अर्थ संकलन गरेर व्यवस्थापन गर्न हम्मे पर्ने) पर्व संचालन गर्न आयोजकहरुलाई आर्थिक कारणले धौधौ भईरहेको छ भने, बिंगो हाउजी जस्ता मनग्य आर्थिक कृयाकलाप हुने कार्यक्रममा आयोजक बन्न अनगिन्ती संघसंस्थाहरु जिल्ला प्रशासन कार्यालय, इलाम नगरपालिकामा आजैको मितिबाट अनुमति पाउन निवेदन हालिरहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने संस्कृति जोगाउनु भन्दा बढी आर्थिक आम्दानी हुने कृयाकलापमा सबैको ध्यान गईरहेको छ ।
रोपाईं जात्रा संचालन गर्न स्थानीय पालिका, व्यवसायीसँग हारगुहार गर्दा पनि सन्तोषजनक सहयोग पाउन सकिएको छैन भने बिंगो हाउजीको लागी स्पोन्सर गत वर्षदेखि नैं तम्तयार भएका छन् ।
अन्त्यमा, यि दुवै चाडपर्व इलामको गहना हुन यिनीहरुको संरक्षण र प्रर्वधन गर्दै लैजाने हो भने जुन संस्थाले रोपाईं जात्रा आयोजना गर्छ त्यही संस्थालाई बिंगोहाउजी खेल संचालन गर्न प्राथमिकता दिन उपयुक्त र समतामुलक हुनेछ । यसले गर्दा इलामको संस्कृति जगेर्नामा सघाउ हुनेछ ।
यो इलाम ग्रीनको विचार हो ।