इलाम, १९ जेठः इलाम जिल्लाको कोरोना पिडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईले बताउनु भएको छ ।
उहाँका अनुसार इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको निम्ती प्रत्येकलाई दुई, दुई थान अक्सिजन कन्सन्ट्रेटर र दस, दस थान अक्सिमिटर प्रदान गरिने छ । जसको निम्ती जम्मा २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाटै पठाइदैछ । हाल एक द्वार प्रणाली रहेता पनि बेलायतको निम्ती नेपालको राजदुतावासको पहलमा बेलायतबाट नेपालसम्म पुर्याईनेछ भने काठमाण्डौबाट इलामसम्म पुर्याई सम्बन्धित नगर तथा गाउँपालिकालाई वितरण गर्नको निम्ती सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जिम्मेवारी वहन गर्नु हुने छ ! जसको निम्ती सम्पूर्ण सामाग्री र आवश्यक कागजपत्रहरु तयार भईसकेको छ र ति सामाग्रीहरु यथासक्य नेपाल प्रस्थान हुने पनि अध्यक्ष राईले जानकारी दिनु भएको हो ।
सन २००९ मा गठित इलाम समाज बेलायतले देशमा भईपरी आएका हरेक विपत्ति लगायत गम्भिर अवस्थाका विमारीहरुको उपचारार्थ सहयोग पुर्याउदै आएको छ । जसमा उल्लेखनिय रुपमा प्रत्येक नगर तथा गाउँपालिकालाई स्टेचर वितरण, इलामको गोदक स्थित वृद्धाश्रमको निम्ती अत्यावश्यक सामाग्रीहरु, महाभुकम्पको समयमा आर्थिक सहयोग, जिल्लाका विभिन्न स्थानहरुमा भएका आगलागीमा परेका पिडितहरुको निम्ती आर्थिक र भौतिक सहयोग, जिल्लाव्यापी फुटबल प्रतियोगिताको निम्ती आर्थिक सहयोग जस्ता कार्यहरु छन भने इलामलाई पर्यटकिय स्थलको रुपमा विश्वसामु चिनारी दिलाउने हेतुले “इलाम हाम्रो पहिचान“ नामक इलाम जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विषेश व्यक्तित्वहरुलाई समेटेर वृतचित्र निर्माण पनि गरेको छ ।
बेलायतमा बसोबासो गरिआएका इलामेहरुको एक्यबद्धताको प्रतिक मानिने यो संस्था विशुद्ध सामाजिक संस्था हो सोही अनुरुप सामाजिक कार्यहरुमा अग्रसरतापूर्वक संस्थाका सदश्यहरु मात्रै नभएर सम्पूर्ण बेलायतबासी इलामेहरुले हरेक सुखदुखमा आर्थिक, भौतिक र मानसिक रुपले यस्ता सत्कार्यमा हातेमालो गर्ने गरेका छन । यो पटकको पनि सदश्यहरुकै आर्थिक सहयोग संकलनबाट कार्य सफलतामा अग्रसर भईरहेकोमा अध्यक्ष राईले खुशी साथै बेलायतवासी सम्पूर्ण इलामेहरुप्रति हार्दिक आभार व्यक्त गरेकी छिन र आगामी दिनहरुमा पनि अझै ससक्त रुपले एक्यबद्ध रही अगाडी बढ्ने कुरोमा आफु विश्वस्त रहेकी बताएकी छिन ।