गोपाल गिरी
इलाम (कन्याम), २६ जेठः सूचना तथा प्रविधिको पहुँच सर्वत्र विस्तार गर्न तथा आम सर्वसाधारणहरुलाई यसको पहुँचमा पु¥याउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रबाट विभिन्न सूचना र संचारका माध्यमहरुको विकास र विस्तार भईरहेता पनि यसको गुणस्तर र प्रभावकारीता बारे बेला बेला प्रश्न उठ्ने गरेको पाईन्छ । यस्ता प्रविधिका सेवाग्राहीहरु समेत सम्बन्धित पक्षले गरेको वेवास्ताको शिकार बन्दा अनेकन हैरानी व्यहोर्न बाध्य छन् । यस्तै हैरानी व्यहोरिरहेका छन् सूर्योदय नगरपालिका स्थित कन्यामका बासिन्दाहरु ।
फिक्कल केवल नेटवर्क मार्फत घर घरमा जडान गरिएको केवल नेटवर्कमा पटकपटक आईरहने समस्याबाट आजित सेवाग्राहीहरु यस बेला केवल वितरण गर्ने कार्यालयका कर्मचारीहरुको रवैयाका कारण झनै आक्रोशित बनेको छन् । करिब २२ दिन यता केवलमा आएको समस्याका कारण सूचना तथा संचार सम्पर्क विच्छेद त छदैछ, यसै विषयलाई लिएर केबल वितरक कार्यालयमा पटकपटक सम्पर्क गरि जानकारी गराउदा पनि उनीहरुले वेवास्ता गर्ने गरेको, फोन नउठाउने तथा मोबाईल स्वीच अफ राख्ने गरेको भन्दै स्थानीयहरूले असन्तुष्टि जाहेर गरेका छन् ।
वार्षिक ३ हजार रुपैया शुल्क तिरेर टिभी हेर्दै आएका सेवाग्राही विराज तामाङले आफुले शुल्क नवीकरण गरेर आए पछि टिभी हेर्न नपाएको बताउँछन् । उता फिक्कल केवल नेटवर्कका प्रमुख डिल्ली थेवेले कन्याम क्षेत्रमा वितरित केवलमा आएको समस्या बारे जानकारी नभएको बताउदै मर्मतका लागि बुधबारै टोली परिचालन गर्ने बताएका छन् । “कोभिड महामारीको कारण टाढा टाढा गएर सेवा विस्तार गर्न कठिनाइ भैरहेको छ, म आजै हाम्रो टोली त्यस ठाउँमा पठाउछु” थेवेले भने ।