इलाम, २६ मंसिरः सुर्योदय नगरपालिकास्थित करफोक खेल मैदानको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पचास हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । एन्फाको केन्द्रिय समितिको बिहीबार बसेको बैठकद्धारा इलाम लगायत देशभरका ११ वटा जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा क्रमागत रुपमा निर्माण भईरहेको योजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिएको जानकारी एन्फाका केन्द्रिय सदस्य तथा स्वास्थ्य विभागका संयोजक निरोज खड्गीले ग्रीन इलामलाई जानकारी दिएका छन् । यो योजनाको लागि स्थानीय सरकारले ५० प्रतिशत बजेट साझेदारी गर्नु पर्नेछ ।
करफोक खेल मैदानलाई यस अघि पनि एन्फाबाट ग्रास रुट कार्यक्रम अन्र्तगत १० लाख रुपैंयाँ विनियोजन भई मैदानको भौतिक पक्ष सुधार गर्ने कार्य सम्पन्न भई सकेको छ । साथै यस पटक विनियोजन भएको रकमले सो मैदानमा स्टेन, खेलाडीहरुको चेन्जिङ रुम लगायतका पुर्वाधारहरु निर्माण गरिने केन्द्रिय सदस्य खड्गीले जनाएका छन् । इलाममा लगातार रुपमा एन्फाको सहयोग भित्रिरहेकोमा खेलाडीहरुमा उत्साह छाएको स्थानीय खेलाडीहरुले बताएका छन् ।