जेठ ८, इलाम : इलाम नगरपालिका वडा नं. ७ ले इलाम नगरक्षेत्रमा बसोबास गर्ने पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । वडा कार्यालयले एक थान एन ९५ मास्क र ५०० मिलिलिटर सेनिटाइजर उपलब्ध गराएको हो । वडा नं. ७ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाका अध्यक्ष नरेश श्रेष्ठले ती समाग्रीहरु पत्रकारहरुलाई वितरण गरेका थिए ।
कोरोना भाईरसका कारण नेपालमा स्थिति विग्रिदै गएको भन्दै मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य आवश्यकता भएको सन्देश दिनकै लागि ती सामाग्रीहरु वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सञ्चारकर्मीहरु कोरोना भाइरसको विशेष जोखिमको क्षेत्रमा रहेका काम गरिरहनुभएको छ । वहाँहरुको सुरक्षाप्रति यो हाम्रो सचेतता र चासो हामीले ब्यक्त गर्न खोजेको हो ।’ इलाम नगरक्षेत्रमा अभावमा रहेकाहरुलाई इलाम चोक बजारमा निशुल्क खाना खुवाईरहेको इलामेली किचनलाई वडा नं. ७ को कार्यालयले विहानमात्र ३० हजार नगद उपलब्ध गराएको थियो ।