नेपाल सरकारले विपदबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि देशभर १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत सहमति गरेको हो ।
जस अन्तर्गत मेची राजमार्ग पुनर्निमार्णका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । यसमध्ये चालु वर्षका लागि १२ करोड बजेट दिइने छ । यस्तै एक करोड ५० लाख रुपैयाँ अस्थायी रूपमा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएको छ ।
यस्तै बिँब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक पुनर्निर्माणका लागि ५० करोड बजेट स्रोत सहमति भएको छ । यसमध्ये यो सडकका पुनर्निर्माणका लागि चालु वर्षमा १० करोड बजेट विनियोजन हुनेछ । साथै अस्थायी निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन हुने भएको छ ।
पुल तर्फ पुवा खोला पुल (मेची) १७ करोड ७० लाख, पुवा खोला बेलिब्रिज ३ करोड ७० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको छ ।
स्रोतः सडक विभाग