इलाम, २७ असाेज: पाँच वर्षअघि (आर्थिक वर्ष २०७५/७६) नेपालले १ अर्ब ५ करोड रुपैयाँ बराबरको ‘डग च्यु’ अर्थात् प्रशोधित छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यु’ निर्यात गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजारको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यु’ विदेशी मुलुकमा निर्यात गरेको थियो ।
डग च्यु पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने छुर्पीको प्रकार हो । विदेशी मुलुकमा यसको प्रयोग कुकुर तथा बिरालोको आहारका रूपमा हुने गर्दछ । अहिले नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यु’ले नै कमाइरहको छ । छुर्पी उत्पादन गर्नेहरू पनि निकै राम्रो व्यापार बढेको बताउँछन् ।
नेपालले अमेरिका, क्यानडा, युके(बेलायत), कोरिया, ताइवान, हंकङ्ग, जापान, ग्रिस, नेदरल्याण्ड्स, मलेसिया, सिङ्गापुर, दुबई, थाइल्यान्ड, फिलिपिन्स, चिन, फ्रान्स, कतार र इटालीमा गरी १७ राष्ट्रहरूमा डग च्यु पठाउने गर्दछ । तर, कुल डग च्यु निर्यातको ८० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । त्यसबाहेक युरोपियन राष्ट्रहरूमा नेपाली छुर्पीको माग बढाउन सकिएको छैन ।
विश्व बजारमा नेपाली छुर्पीको माग चुनौतीसहित व्यापक बढ्दै गइरहेको मनराम गु्रपका फाउन्डर राजेन्द्र श्रेष्ठ बताउँछन् । मनराम ग्रुपअन्तर्गतको ‘हिमालयन डग च्यु’ ले अमेरिकामा नेपाली डग च्यु पठाउने गर्दछ ।
नेपालसँग युरोपियन राष्ट्रमा डग च्यु पठाउन आवश्यक स्ट्यान्डर्ड मापनको संयन्त्र नभएको उनको भनाइ छ । यसका साथै सरकारबाट पनि कुनै प्रकारको सहुलियत नपाएको व्यवसायी बताउँछन् ।
‘अहिले नेपालले मात्रै नभएर भारतले पनि डग च्युमा प्रतिस्पर्धा गर्न थालेको छ । जसले गर्दा नेपालको निर्यातमा प्रभाव परिरहेको छ’, उनले लोकान्तरसँग भने, ‘विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छौँ । तर, त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्छ । हाम्रो सरकारले छुर्पीको निर्यात प्रवर्द्धन गर्ने मात्रै भनेको छ तर, केही गर्न सकेको छैन । व्यवसायीलाई प्रोत्साहन गर्ने केही गरेको छैन ।’
कसरी पठाइन्छ नेपालबाट विदेशमा डग च्यु ?
नेपालमा उत्पादन हुने छुर्पीको प्रशोधन तथा ल्याब टेस्ट गरेर मात्रै विदेश पठाइने गरिन्छ । छुर्पी उत्पादन गर्ने किसानबाट कलेक्सन गरेर प्रशोधन गर्ने गरिन्छ । प्रशोधित छुर्पीलाई सिधै विदेशमा पठाउन भने मिल्दैन । त्यसमा लागि ल्याब परीक्षण गरेर पशु सेवा विभाग अन्तर्गतको क्वारेन्टाइन महाशाखामा अनुमतिको लागि निवेदन पेस गर्नुपर्ने हुन्छ ।
महाशाखाले कुन देशमा कति छुर्पी पठाउने हो ? ल्याब टेस्ट गरिएको छ कि छैन ? कसरी पठाउने हो ? कति बक्समा पठाउने हो ? कति मूल्यमा पठाउने हो ?लगायत सम्पूर्ण कागजातसहित निवेदन माग गर्दछ । उक्त निवेदनलाई हेरी महाशाखाले अनुमति दिएपछि मात्रै उक्त डग च्यू बाहिर पठाउन सकिन्छ ।
मासिक करिब १ लाख किलोभन्दा बढी छुर्पी अमेरिका निर्यात गर्दै आएको हिमालयन डग च्युले ३५० जना किसानबाट छुर्पी खरिद गर्दै आएको छ । कम्पनीले नेपाली किसानबाट मासिक रूपमा १ लाख ५० हजार किलोग्राम छुर्पी कलेक्सन गर्दछ । १ लाख ५० हजार किलोबाट प्रशोधित र आवश्यक मागअनुसारको छुर्पी बनाउँदा करिब १ लाख किलो मात्रै बाहिर पठाइने गरेको कम्पनीको भनाइ छ ।
छुर्पीको मोटाइ, कटिङ तथा पूर्ण रूपमा सुकेको छ कि छैन ? भन्नेजस्ता कुराहरू हेरेर बाहिर पठाउन तयार गरिन्छ ।
सरकारले चासो नदिँदा व्यवसाय संकटमा
बर्सेनि झन्डै साढे ३ अर्ब बराबरको विदेशी मुद्रा भित्र्याउने डग च्युमा सरकारले कुनै चासो नदेखाएको व्यवसायीहरूले गुनासो गरेका छन् । केही वर्ष अघिसम्म कसैलाई थाहा नभएको डग च्यु अहिले सबैले चिन्न थालेका छन् ।
नेपालबाट निर्यात हुने छुर्पीको मूल्य प्रतिस्पर्धी भएको कारणले मूल्य घट्दै गएको मनराम ग्रुपका फाउन्डर श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले नेपालबाट मात्रै नभएर युरोपियन राष्ट्रहरू र भारतबाट पनि डग च्यु निर्यात हुन थालेपछि प्रतिस्पर्धा बढेको हो ।
नेपालबाट सिधै युरोपियन राष्ट्रहरूमा पठाउन मान्यता नपाएको उनले गुनासो गरेका छन् । यसका साथै सरकारबाट पाउनुपर्ने प्रोत्साहन तथा सहुलियत पनि नपाएको उनको भनाइ छ ।
‘हामीले छुर्पी उत्पादन गर्ने किसानबाट तीन प्रकारले छुट्याएर खरिद गर्ने गर्दछौँ । जसमा छुर्पीको आकार र छुर्पीमा हुने चिसोपन हेरेर छुट्याउँछौं । त्यसअनुसार मूल्य निर्धारण गरेर खरिद गर्ने गर्दछौँ, उनले भने, ‘युरोपीय राष्ट्रहरूले किसानहरूबाट उठाइने छुर्पीहरू खरिद नै गर्दैनन् । उनीहरूले त्यहाँको मापदण्ड माग गर्छन् । कुनै अन्तर्राष्ट्रिय संस्थाबाट परीक्षणगरी प्रमाणपत्र पाएको सामान मात्रै खरिद बिक्री हुने गर्दछ । जुन हाम्रो देशसँग कुनै संयन्त्र छैन । यसले गर्दा हामीले अझै ठुलो बजारमा जान सकेका छैनौँ ।’
विश्व बजारमा नेपाली छुर्पीको माग
नेपालले सबैभन्दा बढी सोयाबिन तेल, पाम आयल, रिफाइन्ड पाम आयललगायत निर्यात हुने गर्दछन् । यसका साथै अहिले नेपाली छुर्पीको पनि निकै राम्रो निर्यात बढेको देख्न सकिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ‘डग च्यु’ मात्रै विदेशमा पठाएको थियो । आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ‘डग च्यु’ निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको ‘डग च्यु’ विदेशमा निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको डग च्यु निर्यात गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी ‘डग च्यु’ निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यु’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको भन्सार विभागको तथ्याङक छ ।
तथ्याङकलाई हेर्दा नेपालबाट डग च्युको माग बाढेको देख्न सकिन्छ । यसका सथै विश्व बजारमा यसको माग पनि त्यत्तिकै बढ्दो रहको छ । सरकारले बर्सेनि निर्यातलाई प्रवर्द्धन गर्ने र बढाउने योजना बनाउँदै आएको छ । तर, सरकारले बनाएका योजनाहरू भने लागु हुन नसकेको व्यवसायी बताउँछन् ।
अंकुश विष्ट