कार्ल ल्याण्डस्टिनरको सम्झनामा आज विश्व रक्तदाता दिवस मनाईदै
इलाम, ३२ जेठः आज विश्व रक्तदाता दिवस । यो दिवस विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउने गर्दछन् । संसारको विभिन्न भागमा झैं नेपालमा पनि रक्तदाता दिवसमा र्याली, कोण सभा तथा जनचेतनामूलक कार्यक्रम गरि रक्त दान गर्नुको महत्व तथा फाइदाहरुको बारेमा बताउने गरिन्छ । मानवमा ८ प्रकारका रक्तसमुह हुन्छन् र आफ्ना रगत समुह अनुसारका मिल्नेवाला व्यक्तिलाई मात्र उक्त रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी रगत जाँच गर्दा रक्तदाताहरुलाई आफ्नो रगत सही छ छैन या छैन भने के कस्तो संक्रमण छ त्यसबारे दाताहरुलाई जानकारी दिइन्छ ।
सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो किन ?
रगतको महत्व त्यो बेला थाहा हुन्छ जब आफ्नो केही आफन्त रगतको खाँचो परेको हुन्छ, उ मृत्युशैयामा छटपटाएको हुन्छ, डाक्टरले भन्छन् तपाईको बिमारीलाई तुरुन्तै रगतको चाहिन्छ नत्र अप्रेशन हुन सक्दैन या तपाईको बिमारी बाँच्न सक्दैन । त्यो बेला हामी रगतको खोजीको लागि धेरै छटपटाउँछौं । यताउता आफन्त गुहार्छौ साथी भाई गुहार्छौ कोही रगत बेच्नेवाला पाए किन्न तयार हुन्छौं त्यो बेला हामी पैसाको मोलतोल गर्न लाग्दैनौं । अहिले त इन्टरनेटले गर्दा रगत खोज्न केही सजिलो पनि भएको छ । फेसबुकको पेजमा फलानो ग्रुपको रगत आवश्यक छ भनेर पोष्ट गर्नासाथ यो खबर एक आपसमा सेयर गरिन्छ र कोही दयालु व्यक्तिले यो कुरा थाहा पायो भने गएर रगत दिन्छ । कसैले बिना पैसामा दिन्छन् भने कोही कसैले पैसा लिएर दिन्छन् । यदि हामीले निःशुल्क रक्तदान गर्यौ भने त्यो धेरै पुण्य कार्य हो ।
हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउँदछ र समाजले अकालमै कोही सदस्य गुमाउँन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयमसेवी संस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन्, जस्तैः यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन, नेपाल, रेडक्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफ योग्य छ ।