इलाम, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले इलाममा रास्वपालाई खुच्चिङ भएको सुनाए । ‘…इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई । खुच्चिङ भयो हाम्लाई,’ उनले अघि भने, ‘घण्टी बजाएपछि त स्योर जितिन्छ भन्ने लाग्या थ्यो हाम्लाई हैन । हाम्रो खुट्टा भुईंमा थ्यो र ? थिएन नि ! खुच्चिङ हाम्लाई । इलाममा भएको यही हो ।’ उनले इलामको उपनिर्वाचनबारे यत्ति आत्मसमीक्षा गर्दा कसैले पिर मान्न नपर्ने बताए । उनले हारेको कुरा स्वीकार गर्नुपर्ने बताए ।
रणनीति नबनाएर चुनावी दौडमामात्रै लागेकोले पराजित भएको उनले बताए । उनले संगठन मजबुद बनाउन नसक्नु र एक-अर्काको अस्तित्वलाई विचार गर्न नसक्नु पनि हारको कारण भएको बताए । तर, पराजित हुँदैमा निराश हुनुपर्ने, टाउको लुकाउनु पर्ने केही कारण नभएको उनको भनाइ छ । उनले भने, ‘अघिल्लो चुनावमा करिब १३०० मत ल्याएका थियौं । यसपटक ५००० प्लस मत ल्याएका छौं । चारगुणा बढी मत ल्याउँदा टाउको झुकाउने होइन साथी हो । धेरै चिन्ता गर्नपर्ने आवश्यकता छैन । पाठ सिकेर अगाडि बढ्ने हो ।’ अनलाईनखबरबाट