१ भदौ, इलाम : बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोड, झापा र आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि, इलामविच व्यवसायिक साझेदारीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्पिटल परिसरमा एक कार्यक्रमको आयोजना गरि ५ बर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । आजदेखि आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामका सदस्य र परिवारले बि एण्ड सी अस्पताल विर्तामोडमा १० प्रतिशत छुट पाउछन् ।
वि एण्ड सी हस्पिटलले दिने सेवामा आदर्श सहकारीका शेयर सदस्य र सदस्यसँग आश्रित परिवारले सो छुट पाउने भएका हुन् । सम्झौता सम्पन्न भएपछि खुसी व्यक्त गर्दै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाईले इलामका सहकारी सदस्यलाई सेवा दिन पाउदा आफु हर्सित भएको बताए । हस्पिटलका पब्लिक रिलेसन अफिसर प्रोमिस गिरीले आदर्श सहकारीका सदस्यलाई लक्षित गर्दै हरेक बर्ष स्वास्थ्य क्याम्पको समेत इलाममा आयोजना गरिने बताए । सम्झौताको लागि वि एण्ड सी हस्पिटलका फाइनान्स डिपार्टमेण्टका चन्द्र तामाङ, विनिसा राउत र सागर आचार्यले सहजिकरण गरेका थिए । आदर्शले आफ्ना सदस्यलाई वितरण गरेको कार्ड लिएर वि एण्ड सी मा सेवा लिनु जानुपर्नेछ । सो कार्ड सुरुमै देखाएमा मात्र छुट प्राप्त गर्न सकिनेछ । सम्झौता पछि आदर्श सहकारीका अध्यक्ष महेश श्रेष्ठले ओपिडी सेवा र विरामी भर्ना शुल्क बाहेक सबै सेवामा छुटको व्यवस्था मिलाईएको जानकारी दिए ।
आदर्श सहकारीले बैद्य ट्रेड सेन्टर, इलाम टी हाउस, गोविन्द इलेक्ट्रोनिक्स, बगैचा पार्टी प्यालेस र मानव डेण्टल हस्पिटलसँग यसअघि नै सम्झौता गरि कार्यक्रम अघि बढाएको छ । सहकारीको आफ्नै सहकारी पसल छ । सो पसलमार्फत सहकारीका सदस्यहरुलाई सुपथ मुल्यमा मल, विउ, विजन, दाना र पशु औषधि उपलब्ध गराईदै आएको छ ।