इलाम ३ भदौ : सुलुबुङ इलामका मेगेन्द्र सुवेदी बारीमै कुहिन लागेको काक्रा हेरेर चिन्तित छन् । बारीभरि काक्रा टन्नै फलेका छन् । किनेर लगिदिने न कोहि आउछ, न त आफु नै बजार लगेर बेच्न सक्ने अवस्था छ । विगतका बर्षहरुमा काक्रा बेचेर लाखौं रुपैयाँ आम्दानी गरेका इलामका किसानहरु बारीमै काक्रा कुहिदै गएको हेर्नसिवाय केहि गर्न सकेका छैनन् । लाखौ लगानी गरेर जितपुरमा युवाहरुले विगत ३ बर्षदेखि सञ्चालन गरेको काक्रा खेतीको पनि उही हाल छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण इलामका किसानले फलेको काक्रा बेच्न पाएका छैनन् । अझ यस बर्ष अधिक पानी परेपछि काक्रा कुहिन पनि थालेको हो । हरियो हुदै मात्र काक्राले उचित मुल्य पाउनेमा काक्रा पहेलो भईसकेपछि स्वत बिक्रीमा ह्रास आउने मेगेन्द्रले बताए । उनले भने, ‘एकातिर ज्यान बचाउने पीर छदैछ, अर्कोतिर पसिना मुल्य गुमेकोमा ।’