इलाम, २२ असोजः दुध बेचेर गुजारा चलाउँदै आएका पूर्वका किसानलाई दशैँ नजिकिएसँगै चिन्ता थपिएको छ। दुध बेचेको पैसा नपाएपछि उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले पिरोल्न थालेको हो । किसानले चार महिनादेखि दुध बेचेको पैसा पाएका छैनन् । लामो समयदेखि दुध बेचेको पैसा नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको इलाम कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले बताए । ‘दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारी सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ता छ,’ उनले भने । गत वर्षको पुस महिनासम्म डीडीसीलाई दुध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डीडीसीले समयमा दुधको भुक्तानी नगरेका कारण चिलिङ सेन्टर बन्द भएको हो ।
दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध संकलन गर्दै आएको छ । सयौं सहकारी तथा संकलन केन्द्रसँग डीडीसीले असारयता खरिद गरेको दुधको भूक्तानी दिएको छैन । ८ हजार किसानले जेठपछिको भुक्तानी नपाएको बताएका छन् ।
बिराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार इलामका सहकारीहरूलाई मात्र दुधबाहेक दुधजन्य पदार्थको करिब २ करोड रुपैयाँ डीडीसीले भुक्तानी गर्न बाँकी छ । दुधको भुक्तानी अनियमित भएपछि किसानले डीडीसीसँग सम्झौता गरेका सहकारी र संकलन केन्द्रलाई दुध उपलब्ध गराउन छोडेपछि इलाममा सञ्चालित ६ वटा चिलिङ सेन्टर बन्द भएका छन् । अहिले तीन वटा सेन्टरले थोरै परिमाणमा दुध किनिरहेका छन् । लामो समयदेखि दुधको भुक्तानी नपाएका किसान जसरी पनि दशैँमा पैसा चाहियो भन्दै सहकारीलाई दबाब दिइरहेका छन् । तर, सहकारीहरू एकैपटक लाखौं रुपैयाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् ।