इलाम, ९ साउनः सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ६ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परियोजनाले यसअघि पनि क्रमसः आव २०७६।७७ र २०७७।७८ मा ४ करोड ५८ लाख र ४ करोड ६३ लाख मुनाफा आर्जन गरी ७.१५ प्रतिशत र ११.५ प्रतिशत लाभांस वितरण गरेको थियो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस आगामी ३१ गते हुने कम्पनीको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि वितरण गरिनेछ । साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफारनोक्सान हिसाब नगद प्रवाहा विवरण छलफल गरी पारित गर्नेछ । साथै, २०७९।८० का लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइनबाट गोदक सबस्टेसनमा जोडिएको छ ।