इलाम ९ भदौः प्रदेश एकमा यो वर्ष ९८.५४ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ३५ हजार ८ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन भएको कृषि विकास निर्देशनालय प्रदेश एकले जनाएको छ । भदौ सात गते एक सूचना जारी गर्दै निर्देशनालयले गएको आर्थिक वर्षमा यही समयमा ९७.६८ प्रतिशत रोपाइँ भएको जनाएको छ । यस्तै यस वर्ष उच्च पहाडमा १०० प्रतिशत रोपाइँ भएको छ । २४ हजार ११३ हेक्टर क्षेत्रफल मध्ये २४ हजार ११३ हेक्टर क्षेत्रफलमा नै धान रोपाई भएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा सय प्रतिशत नै धान रोपाई भएको छ ।
यता मध्य पहाडमा भने ९६.६५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफल मध्ये ८७ हजार ८ सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । उदयपुर, खोटाङ, ओलढुङगा, इलाममा सय प्रतिशत नै धान रोपाई भएको छ भने पाँचथरमा ९७ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ३ प्रतिशत जग्गामा मकै हार्भेष्ट गरिरहेको र बाझो जग्गा जोत्ने कार्यालय भइरहेको पनि निर्देशनालयले जनाएको छ । उक्त जिल्लामा आगामी हप्ता सय प्रतिशत नै धान रापाई हुने छ । यस्तै भोजपुरमा ९१ प्रतिशत धान रोपाई भएको छ । बसाई सराई, जनशक्ति अभाव र फलफूल खेतीमा आकर्षित भएर ९१ प्रतिशत मात्र धान रोपाई भएको निर्देशनालयले जनाएको छ ।
यता तेह्रथुम जिल्लामा भने ९५ प्रतिशत धान रोपाई भएको छ । मकै, जुनेलो, कोरोना, जनशक्ति अभाव र बसाइसराइका कारण ९५ प्रतिशत मात्र रोपाई भएको हो । यसैबिच तराईमा भने ९९.१४ प्रतिशत रोपाई भएको छ । झापा हिल्लामा सय प्रतिशत रोपाई भएको छ भने मोरङमा १ प्रतिशत जग्गामा जुट बाली तथा तरकारी खेती र धान खेती योग्य जमिनमा प्लटिङ भएका कारण यो वर्ष ९९ प्रतिशत रोपाई भएको छ । यस्तै सुनसरीमा भने जुट खेती र तरकारी खेतीका कारण यो वर्ष ९८ प्रतिशत धान रोपाई भएको छ । यसरी तथ्याङ्कलाई आधार मान्ने हो भने यस वर्ष गएको वर्ष भन्दा केही बढी धान रोपाई भएको छ ।