याङ्गुन– म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो ।म्यान्मारमा कारागारको क्षमताभन्दा ठूलो संख्यामा कैन्दीबन्दी थुनामा रहेका छन् । सामान्यतया अप्रिलको नयाँ वर्षका अवसरमा म्यान्मारमा ठूलो संख्यामा कैदीबन्दीको बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रचलन छ । तर, यसपटक कोरोनाभाइरसका कारण अहिलेसम्मकै ठूलो संख्यालाई एकैपटक मुक्त गर्न लागिएको हो । जेलभित्र कोरोना संक्रमण फैलन सक्ने भन्दै संयुक्तराज्य अमेरिका, युरोपका केही मुलुक, कोलम्बिया समेतका धेरै मुलुकले बन्दीहरुलाई रिहा गरिरहेका छन् ।
