इलाम, १० भदौः इलाम नगरपालिका वडा नं. ८ मा कोभिडबाट संक्रमण हुनेको संख्या बढोत्तरी भए सँगै वडा कार्यालय चिन्तित बनेको छ । इलाम नगरपालिकाका वडाहरु मध्ये वडा नं. ८ मा संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको सो वडाका वडाध्यक्ष होमबहादुर बस्नेतले बताउनु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले इलाममा निषेधाज्ञा जारी गरिरहेको भएता पनि सो वडाका धेरै बासिन्दाहरु दैनिक रोजीरोटीको लागि घर बाहिर जानु पर्ने बाध्यताले पनि कोरोनाबाट संक्रमित हुनु परेको बिहीबार वडा कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको भेटघाट कार्यक्रममा वडाध्यक्ष बस्नेतले जानकारी दिएका हुन ।
यसरी दैनिक रुपमा संक्रमित हुनेहरु सबै भन्दा बढि सचेतनाको अभावको कारण र कोरोनाको लक्षण देखा पर्ने बित्तिकै रोग लुकाउने मुख्य कारण रहेको र यसको लागि वडा कार्यालयले एफएम रेडियो मार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै सो वडा भौगोलिक बनावटका कारण ठुलो क्षेत्रमा फैलिएको हुँदा जेष्ठ नागरिकहरुलाई कोभिड विरुद्धको खोप लगाउन शहरी स्वास्थ्य केन्द्र सम्म आउन समस्या पर्ने भएकोले भविष्यमा संचालन हुने कोभिड विरुद्धको खोप लगाउन सो वडा भित्र ३ वटा केन्द्र संचालन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने भएको समेत जनाईएको छ । कार्यक्रम गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, राजनैतिककर्मी रुद्र साङपाङ र दलमान तामाङ, इलाम अस्पताल व्यवस्थापन समितिका सदस्य बद्री खड्का, इलाम नगर दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराईली, नेपाली कांग्रेसका इलाम नगर उपसभापति मोहन विष्ट, सहकारीकर्मी सुनिल गौतम, ८ नं. वडा शहरी स्वास्थ्य केन्द्रका प्रमुख विजय खनाल, सो वडाका वडा सदस्यद्धय डिपी दुलाल र गोमा आचार्यको सहभागिता रहेको थियो ।