इलाम, १८ साउनः इलाम सदरमुकाममा दिन प्रतिदिन कोरोना भाईरसका संक्रमतिहरुको संख्या बढ्दै गईरहेको परिपेच्छमा सम्बन्धित निकायहरुबाट संक्रमण बढ्न नदिन कुनै पहल कदमी नभएको भन्दै इलाम उद्योग वाणिज्य संघ आफैले आफ्नो अगुवाईमा व्यापार व्यवसाय एक साताको लागि बन्द गर्ने जनाएको छ । संघले आईतबार इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै अनुरोध गरिएको पत्रमा भनिएको छ- “हाल विश्व भरी फैलिरहेको कोरोना भाईरस COVID-19 बाट इलाम नगर क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको चहलपहल र भिडभाड बढेसँगै नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको वर्तमान सन्दर्भमा आम व्यवसायी समेत त्रसित रहेको साथै नगरबासी तथा उद्योगी व्यवसायीहरुले आफुलाई असुरक्षित महसुस गरी यस संघ एक साता बजार बन्द गरी परिक्षणको दायरा माग गरे बमोजिम बजार बन्द गरी सहयोग गरिदिन हुन अनुरोध गर्दछौं । यस विषयमा सरोकारवाला निकाय गम्भीर नभएको खण्डमा इलाम वाणिज्य संघको अगुवाईमा व्यापार व्यवसाय पूर्णरुपमा बन्द गरिने” जनाएको छ । उक्त पत्रको बोधार्थ जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिकाको कार्यालय, ७ नं. वडा कार्यालय इलाम नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय इलामलाई दिएको छ । यता इलाम नगरपालिका भने समुदायमा कोरोना नफैलिएकोले नगरबासीहरुलाई संयमित रहन आग्रह गरेको छ ।