प्रकाश परियार
इलाम, ३० वैशाखः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फाकफोकथुम गाउँपालिका कमिटीले कोरोना रोकथाम, नियन्त्रणमा सहयोग पुर्याउन तथा राहत वितरणको लागि फाकफोकथुम गाउँपालिकालाइ एकलाख रुपैंयाँ सहयोग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य एवम फाकफोकथुम गाउँपालिका इन्चार्ज राजकुमार थापा र जिल्ला सचिवालय सदस्य एवम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले मंगलबार एक कार्यक्रमबिच गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई (सरु)लाई कोरोना भाइरस रोकथाम, नियन्त्रण एवम राहत वितरणलाई प्रभावकारी बनाउन, तथा विकास निर्माणलाई समेत प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षण पत्र सहित सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गरिएको रकम पार्टी सदस्यहरुबाट सहयोग गरिएको बताईएको छ ।
ध्यानाकर्षण पत्रमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवम राहत वितरण प्रभावकारी बनाउनु पर्ने, क्वारेन्टाइन मापदण्डयुक्त बनाउनु पर्ने, लकडाउनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, विकास निर्माणलाई पारदर्शी, प्रभावकारी र नागरिकको हित बमोजिम गर्नु पर्ने, राहत वितरणमा भएको कमजोरी एवम गुनासो समेट्नु पर्ने उल्लेख गरिएको छ । नागरिकको जीवन रक्षा एवम आपतविपतमा नेकपा सधै साथमा रहेको इन्चार्ज थापाले बताएका छ्न भने राहत, उद्दार तथा सहयोगको लागि पार्टी निरन्तर लाग्न स्वयमसेवकको रुपमा समेत काम गर्न पार्टी तयार भएको नेकपा गाउँपालिका अध्यक्ष खनालले बताएका छ्न । राहत वितरणको लागि सहयोग गरिएको रकम सबैको सल्लाहले गाउँपालिकालाई राहत वितरण गर्न विकास निर्माणमा अघि बड्न महत्वपूर्ण सहयोग पुगेको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताएका छन् ।