इलाम, असार ५ गतेः ऋण आवेदन गर्ने सदस्यहरुको वित्तीय अनुशासन र बचत तथा ऋणको व्यवहार आदनप्रदान गर्ने हेतुले इलामका सहकारीले शाख सुचना आदानप्रदान शुरु गरेका छन् । म्यानेजर्स क्लब इलामले सुरक्षित ऋण लगानीको पहल स्वरुप शाख सुचना आदानप्रदान शुरु गरेका हुन् । विगतका दिनहरुमा भाका नाघेका तथा कालोसुचीमा परेका ऋणीहरु अर्को सहकारीमा गएर पुन ऋण माग गर्ने र सहकारीलाई मारमा पार्ने क्रियाकलापलाई निरुत्साहित गर्न साख सुचना आदानप्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापाले बताए । उनले भने, ‘महत्वपूर्ण कामको थालनी भएको छ, सबै सहकारीका व्यवस्थापक ज्युहरुले ऋणीको गोपनियताको समेत ध्यानमा राख्दै काम बढाउन अनुरोध छ ।’
म्यानेजर्स क्लवका अध्यक्ष याम प्रधानले शाख सुचना आदान प्रदान गर्न इच्छुक इलामका सहकारी संस्थाहरुले म्यानेजर्स क्लवमा आवेदन गर्न सकिने बताए । उनले भने, ‘हाललाई हामी इलाम नगरक्षेत्रलाई लक्षित गरि शाख सुचना आदानप्रदान गर्ने लक्ष राखेका छौं, आगामी दिनमा जिल्ला सहकारी संघ इलाम सहितको संयोजनमा इलाम जिल्लाभरका सबै सहकारी संस्थाहरुलाई समेटेर लैजानेछौं।’ गतबर्ष आयोजना गरिएको इलाम कोअपरेटिभ म्यानेजर्स मिटले म्यानेजर्स क्लब गठन गरेको थियो ।