
विराटनगर । नेपालमा उत्पादन हुने चियाको निर्यातमा भारतले पुनः बखेडा निकालेको छ । नेपाल सरकारले भारतबाट केराको आयातमाथि कडाइ गरेपछि भारतले पनि नेपालबाट भारततर्फ निर्यात हुँदै आएको चियामाथि कडाइ गरेको छ। यसले गर्दा नेपाली चिया उत्पादक किसान निराश बनेका छन् । यसअघि पनि भारतले विभिन्न बहानामा नेपाली चियाको निर्यातमा प्रभाव पार्दै आएको थियो । नेपालबाट निर्यात हुने चियाको गुणस्तर परीक्षण अब भारतीय पक्षले गरेको आधारमा मात्रै हुने व्यवस्था भारतले गर्न लागेको छ । भारतले भोलि(शुक्रबार) अर्थात मे १ तारिखदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेपालबाट चिया बोकेर गएका ढुवानी साधनलाई भारतीय पक्षले भारतको पानीट्याङ्कीमा रोकेर नमुना संकलन र गुणस्तर परीक्षण पश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतको यो नयाँ परीक्षण गर्ने प्रणालीका कारण नेपाली चियाको निर्यात ठप्प हुन सक्ने अवस्था सिर्जना हुँदैछ । बुधबारसम्म आफूहरूले गुणस्तर परीक्षण गरेको रिपोर्टको आधारमा चिया गाडीमा लोड गरेर निर्यात गर्दा भारतीय पक्षले पानीट्याङ्कीमा रोक्ने गरेको थिएन । ‘अब मे १ तारिखदेखि नेपालबाट गएको चिया भारतीय पक्षले पानीट्याङ्कीमा रोकेर उनीहरूले नै स्याम्पलिङ गरी गुणस्तर परीक्षण गर्ने तयारी गरेका छन्,’ उनले भने, ‘परीक्षणको प्रतिवेदन नआउँदासम्म गाडी भारतमै पार्किङ गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गुणस्तरको प्रतिवेदन सकारात्मक आएको अवस्थामा मात्रै निर्यात गर्न पाइनेछ ।’ प्रतिवेदन नकारात्मक आए भारतीय भूमिमै चिया ड्यामेज गर्नुपर्ने व्यवस्था भारतले तयारी गरेपछि चियाको निर्यात प्रक्रिया ठप्प हुने स्थिति आएको हो ।
‘नेपालबाट चिया बोकेको गाडी भारतीय भन्सारमा पुगेपछि निर्यात गर्न अयोग्य ठहर भए फिर्ता ल्याउन सम्भव नै हुँदैन,’ गुप्ताले भने । मेची भन्सारका प्रवक्ता ईश्वर हुमागाईँका अनुसार बुधबारसम्म नेपाली चिया निर्वाध रूपमा निकासी भए पनि आगामी शुक्रबार (मे १ तारिख) देखि भारतले उक्त प्रावधानको तयारी गरेपछि नेपाली चिया उत्पादक किसान र निकासीकर्ता अन्योलमा परेका छन् । भारतीय पत्रपत्रिकामा नेपाली चिया निर्यातको विषयमा भारतीय पक्षले तयारी गरेको विषयले अहिले निकै चर्चा पाएको छ । हुमागाईँले चर्चाजस्तै तयारी भएको भए नेपाल सरकारले समस्या समाधानको लागि कूटनीतिक पहल गर्नुपर्ने बताए । समस्या समाधानको लागि भन्सार टु भन्सार नभई जिटुजी गर्नुपर्ने उनको सुझाव छ । नेपालबाट चिया निर्यात पछिल्ला वर्षहरूमा निरन्तर विस्तार हुँदै गए पनि बजारको अस्थिरता, भारतको अवरोध र मूल्य उतार–चढावका कारण चुनौती पनि थपिँदै गएको छ । पछिल्लो समय वार्षिक सरदर ४ अर्ब मूल्य बराबरको नेपाली चिया निकासी हुँदै आएको छ । पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा चियाको उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको चियाको ठूलो हिस्सा निर्यातमा निर्भर छ । यहाँ उत्पादन हुने चिया निकासीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ र बाँकी अमेरिका, जर्मनी र जापान लगायतका देशमा पुग्छ । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।
यस्तो छ भारतको नयाँ व्यवस्था
भारतीय सञ्चारमाध्यम ‘द टेलिग्राफ इन्डिया’का अनुसार भारतीय चिया बोर्डले नेपालबाट निर्यात हुने चियाको हकमा भारतले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ । बोर्डले जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेको छ । यसअघि नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर अबदेखि भारत प्रवेश गर्ने हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउनेछन् । चिया नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्नेछन् ।
प्रति नमुना परीक्षणको लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निकासीको लागत खर्च निकै बढाउने अवस्था सिर्जना भएको छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ । उक्त अवधिभर न त त्यो चिया बेच्न पाइनेछ, न त पुनः निर्यात नै गर्न पाइनेछ । प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको छ । पुनः निर्यातको हकमा पनि नयाँ व्यवस्था गरिएको छ । नेपालबाट ल्याएर भारतले तेस्रो देशमा पठाउने चियाको हकमा ६ महिनाभित्र पठाइसक्नुपर्ने र त्यसमा कम्तीमा ५० प्रतिशत ‘भ्याल्यू एडिसन’ (मूल्य अभिवृद्धि) हुनुपर्ने नियम पनि लगाइएको छ ।
Clickmandu
