इलाम, १० जेठः इलाम नगरपालिका वडा नं. ७ का वडा सदस्य संजिव राईको पहलमा इलाम जिल्ला अस्पताललाई करिब ५ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको छ । राईको पहलमा राष्ट्रिय स्तरको गैरसरकारी संस्था तीनचुली नेपाल नामक संस्थाको सहयोगमा पाँच वटा अक्सिजन कन्सनटेटर मेसिन र ५० थान धुन मिल्ने किसिमको पिपिई सेट आज सोमबार काठमाडौंमा इलाम पठाउनको लागि तीनचुलीका प्रतिनिधि ज्वलन्त गुरुङले समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी तथा गैरसरकारी संस्था महासंघको केन्द्रीय उपमहासचिव अर्जुन भट्टराईलाई हस्तान्तरण गरिएको हो । इलाम पठाउनको लागि सामाग्री हस्तान्तरण गरेपछि वडा सदस्य राईले पहलकदमी गर्ने तथा समन्वयकारी भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा इलाम अस्पताल तथा कोभिड अस्पताललाई सहयोग गर्ने दाताहरु बढिरहेका छन् । आजै सोमबार जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ७५ लाख रुपैंयाँ अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिईसकेको छ ।