इलाम, ६ असारः आज विश्व शरणार्थी दिवस विश्वभर मनाईदैछ । सन् २००१ जुन २० देखि अन्तराष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउन सुरु गरिएको हो । शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर)ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ ।
संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्ला हृदयहरुको आवश्यकता छ । हरेक शरणार्थी बालबालिकाले पढ्न पाउन शरणार्थी परिवारले यथोचित बास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउनु आवश्यक छ । विश्वमा हरेक १ सय १३ मान्छेमध्ये १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्यांक छ ।