इलाम, ५ असारः इलाममा रहेको एकमात्र माई भगवती बृद्धाश्रममा जेष्ठ नागरिकहरुको लागि शुक्रबार मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । बृद्धाश्रमको आयोजना तथा १ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र जेष्ठ नागरिक संघ जिल्ला कार्य समिति इलामको सहयोगमा गायन तथा नृत्य कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौला, वरिष्ठ लोकगायक तथा संगीतकार देवी गौतम, इलामका वरिष्ठ नृत्य निर्देशक रोशन कर्माचार्य, गायक राजेश चाम्लिङ, कलाकार रोषित कर्माचार्य, चन्द्र खत्री लगायतले भजन तथा नेपाली आधुनिक गीतहरु गाएका थिए भने नृत्यकारहरुले सोही गीतमा नृत्य प्रस्तुत गरेर बृद्धाश्रम तथा आश्रम वरपर रहेका अन्य जेष्ठ नागरिकहरुलाई मनोरञ्जन गराएका थिए । आश्रममा मात्र सिमित भएर बस्नु पर्दा जेष्ठ नागरिकहरुमा नैरश्यता उत्पन्न हुने हुँदा उनीहरुको लागि पनि समय समयमा मनोरञ्जनका कामहरु गराउँन आवश्यक भएकोले यो कार्यक्रम आयोजना गरिएको आश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले ग्रीन इलामलाई बताए । कार्यक्रममा प्रबन्ध समितिका उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथ्यता इलाम नगरपालिका सबै भन्दा जेष्ठ नागरिक झुमा ओली र अध्यक्षता विष्णु दहाल लिम्बुले गरेका थिए । यस कार्यक्रमको प्रत्यक्ष प्रशारण “ग्रीन इलाम”को आधिकारिक फेसबुक पेज “इलाम ग्रीन”ले गरेको थियो ।