कोषवल्लभ रेग्मी
बेलुकीको खानापछि सबै अगेनाको वरिपरि बस्यो।ओल्लो-पल्लो घरका साथीहरू भेला भयो।बिजुली बत्तीको नामै थिएन।आगोको उज्यालोको भरमा बस्नुपर्ने।एउटा सानो मट्टीतेलको टुकी त्यो पनि खाना खाने बेलामा मात्र प्रयोगमा आउथ्यो।साथीभाइहरु भेला भएर गाउँ खाने कथा र हसाउने कुथुङ्ग्रीहरु सुन्ने सुनाउने गरिन्थ्यो।
घरमा कोठा थिएनन्।मझेरीमा पराले गुन्द्रीमाथि राडी ओछ्य्एर अर्को राडीनै ओडेर सुतिन्थ्यो।दिनभरीको थकानले आहा !!!निन्द्रा कस्तो मजाले आउथ्यो।बिहान उठ्यो घासपात गर्यो।जुत्ता चप्पल थिएनन्।भैहाले पनि कतै टाढा पाहुना लाग्न जाँदालाई साच्नु पर्थ्यो।तै पनि खुट्टा बलिया थिए।नयाँ लुगा लगाउन र धानको भात खान दशैनै कुर्नु पर्थ्यो।खाली खुट्टा हिड्दा औलामा ठेस लागेर बाङ्गा र टुप्पो मोटो भएका हुन्थे।ऊ समयका दिन दुखका थिए सुख थिएन तर शान्ति थियोे।
ऐले खाना पकाउने इलेक्ट्रिक कुकर ,ग्यास सिलिन्डर जाने नजानेका अनेक शुख सुबिधा छन्।चौकामा बसेर खाना खानुपर्दैन।डाइनिङ टेवल सोफा कुर्सी छन्।अागो ताप्नु पर्दैन।खाना खायो आफ्नै कोठामा गयो।कित टि.भी.कित मोबाइल अन गर्यो एक्लै हास्यो,एक्लै रमायो।हेरी अमन भएपछि भुवादार पलङमा ढलिमलि भयो तै पनि राम्रो निन्द्रा पर्दैन।
ऐलेकाको जन्मदै जुत्ता चप्पल खुट्टामा हुन्छ।एक बर्समा बीस जोर लुगा फेरिन्छन्।दाउरा घाँस,मेलापात गर्नुछैन र त्यस्ता कुराको ज्ञानै पनि छैन।ऊ बेलाको कुरा सुनायो भने-“उहिलेको कुरा खुइले”-भन्दै मुन्टो बटार्छन्।सबैकुराको बनावटी छ नक्कल छ।प्रविधिले दिनभर गर्ने काम एक घन्टा लाग्दैन।घन्टौं लाग्ने दूरी केही समयमै पुगिन्छ।यो समय सबै कुराको सुख छ सुविधा छ।तर के गर्नु मनमा शान्ति भने पटक्कै छैन ॥
देउमाई नगरपालिका ७ (सिद्धिथुम्का), इलाम