कोषवल्लभ रेग्मी
“समय भन्दा दुई घण्टा ढिलो आयौ । रकम कटाएर मात्रै ज्याला पाउछौ है !”-दिनको बाह्र बजे तिर आएको एकजना घरेलु कामदारलाई मैले भने।
“हुदैन हजुर त्यसरी ! काम समयले गर्ने हो र ? काम त पाखुरीले गर्ने हो । मलाई त पुरै चाहिन्छ । नत्र फर्कन्छु।”-उसले जंगिदै बोल्यो ।
“भैगो भैगो ! दिउला पुरै….!”-मैले आनाकानी गरिन। उसले काम कस्तो गर्यो, पुरै दिनभरकै गर्यो या गरेन मलाई थाहा भएन । तर पनि म काम गर्न आएका कामदारहरुलाई जुनबेला आए पनि पुरै ज्याला दिएर पठाउने गर्न थालें । एकदिन म कार्यालयकै काम विषेशले समयमा कार्यालय पुग्न असमर्थ हुदै थिएँ । करिब दुई-अढाइ घण्टा ढिला हुदैथियो होला । तर पनि म हतार हतारमा कार्यालय लम्कदै थिएँ । यतिकैमा एकजना महोदयसँग बाटोमा भेट भयो । उनले अचानक नाडी घडी हेर्दै बोले-“यतिबेला कता सर ? अफिस तिरै हो कि?” मेरो बोल्ने फुर्सद थिएन।”-हो हजुर-!”भन्दै अगाडि बढें। “अनि सर हाजिर त दस देखि पाँच बजे सम्मकै ठोक्नु हुन्छ नि हैन ? तलब चाहिँ पुरै दिनको थाप्नुहुन्छ कि कसो ? कामचोर कर्मचारी …….!!!”-उनी अरु केके नबुझिने कुरा फत्फताउँदै ओरालो झरे । म पनि उनलाई केही भन्न खोज्दै थिएँ तर उनी सुन्ने अवस्थामा थिएनन् ॥
(देउमाई न पा ७ इलाम)