इलाम, १३ वैशाखः हिन्दु पञ्चाङ्गका अनुसार, वैशाख मास शुक्ल पक्षको तृतीया तिथिका दिन भगवान परशुराम जयन्ती मनाइने गरिन्छ । यो वर्ष (वि.सं. २०७७)मा परशुराम जयन्ती आज वैशाख १३ गते शनिबारको दिन परेको छ । यसै दिन भगवान विष्णुको आवेशावतार परशुरामको जन्म भएको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ । आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई भगवान परशुरामकै बारेमा केहि रोचक कुराहरू बताउन गईरहेका छौँ, जुन यसप्रकार रहेका छन् ।
आफ्नै शिष्य भीष्मलाई पनि पराजित गर्न सकेनन्
महाभारत कथाका अनुसार, महाराज शान्तनुका पुत्र ‘भीष्म’ले भगवान परशुराम सँग शस्त्र–अस्त्र विद्या प्राप्त गरेका थिए । एकपटक भीष्मले काशीमा भैरहेको स्वयंवरबाट काशीराजका तीन पुत्रीहरू अम्बा, अम्बिका र अम्बालिकालाई आफ्ना कान्छा भाई ‘विचित्रवीर्य’को लागि उठाएर ल्याएका थिए । तर जब अम्बाले आफूले राजा शाल्वलाई मनै मनले आफ्नो पति मानिसकेको बताएपछि भने भीष्मले उसलाई स–सम्मान छाडिदिए । तर हरण गरिसकेको स्त्रीलाई शाल्वले अस्वीकार गरिदिए । त्यसपश्चात अम्बा भीष्मका गुरु परशुराम कहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन् । अम्बाको कुरा सुनेर परशुरामले भीष्मलाई उसैसँग विवाह गर्न आदेश दिए । तर ब्रह्मचारी भएको कारण भीष्मले यस्तो गर्न अस्वीकार गरेपछि परशुराम र भीष्मको घमासान युद्ध भयो । भीष्मलाई पनि सारा शस्त्र–अस्त्रको पुरै ज्ञान थियो, जसको कारण परशुरामले उनलाई सजिलै पराजित गर्न सकेनन् । अन्तमा आफ्ना पितृहरूको कुरा मानेर भगवान परशुरामले अस्त्र राखिदिए ।
ब्राह्मण भएर पनि क्षत्रीय जस्ता थिए परशुराम
महर्षि भृगुका पुत्र ऋचिकको विवाह राजा गाधिकी पुत्री सत्यवतीसँग भएको थियो । विवाह पश्चात सत्यवतीले आफ्ना ससुरा महर्षि भृगुसँग आफ्नो लागि र आफ्नी माताका लागि पुत्र वरदान मागिन् । तब महर्षि भृगुले सत्यवतीलाई दुईवटा फल दिए र भने– ‘ऋतु स्नान (महिनावारी भएको बेला गरिने स्नान) पछि तिमीले वरको वृक्ष र तिम्री माताले पीपलको वृक्षलाई फन्को मारेर यो फल खानू ।’ तर सत्यवती र उनकी माताले भूलवश वर र पीपलको सट्टा अर्कै वृक्षलाई फन्को मारेर फल खाए । महर्षि भृगुले यो कुरा थाहा पाए र सत्यवतिलाई भने– ‘तिमीहरूले गलत वृक्षलाई गएर घुम्यौ, त्यसैले तिम्रा पुत्र ब्राह्मण भएर पनि क्षत्रीय जस्ता हुनेछन् र तिम्री माताका पुत्र क्षत्रीय भएर पनि ब्राह्मण जस्ता हुनेछन् ।’ यस्तो कुरा सुनेर सत्यवतीले महर्षिसँग प्रार्थना गर्न थालिन्, कि उनका पुत्र क्षत्रीय गुणवाला नहून्, बरु उनका नातिमा यस्तो गुण होस् । महर्षि भृगुले पनि यस्तै हुने वरदान दिए । केहि समय पश्चात सत्यवतिको गर्भबाट जमदग्रिको जन्म भयो, जसको आवरण ऋषिहरूकै समान थियो । उनको विवाह रेणुकासँग भयो र उनीहरूबाट चार पुत्र भए । जसमध्ये चौथो पुत्र परशुराम थिए, जसको आचरण, बानी व्यवहार क्षत्रीय जस्तै हुन पुग्यो ।
आफ्नै माताको वध गरेका थिए परशुरामले
एकदिन परशुरामकी माता रेणुका स्नान गरेर आश्रम फर्किरहेकी थिइन् । तब संयोगवश उनको भेट राजा चित्ररथसँग हुन पुग्यो । राजालाई देखेर रेणुकाको मनमा नानाथरीका विकार उत्पन्न हुन पुग्यो । यस्तै विचलीत मन लिएर उनी आश्रम पुगिन् । आश्रम पुगेपछि उनका पति जमदग्रिले रेणुकाको मनमा उत्पन्न भएको विकारलाई चिने । त्यसपछि उनले आफ्ना सबै पुत्रहरूलाई माताको वध गर्ने आज्ञा दिए, तर मातामोहको कारण कसैले पनि जमदग्रिको आज्ञा पालन गर्न सकेनन् । तर परशुराम त क्षत्रीय गुणवाला थिए, उनले आफ्ना पिताको आज्ञा पालन गर्दै भगवान शिवबाट प्राप्त गरेका ‘दिव्य बञ्चरो’ले आफ्नै माताको शिर काटिदिए । यो देखेर मुनि जमदग्रिले प्रसन्न हुँदै परशुरामसँग वरदान माग्नको लागि भने । तब परशुरामले आफ्नी मातालाई पुर्नजिवित गर्ने र उनलाई यसको बारेमा कुनै ज्ञान नहोस् भनी वरदान मागे । जमदग्रिले पनि सोहि वरदान दिई उनकी माता रेणुकालाई पुर्नजिवित गरिदिए ।
२१ पटक पृथ्वीलाई क्षत्रीयविहिन गराइदिएका थिए परशुरामले
एकपटक महिष्मती देशका राजा कार्तवीर्य अर्जुन युद्धमा विजय भएर फर्किँदै थिए र ऋषि जमदग्रिको आश्रममा विश्राम गर्ने निर्णय गरे । विश्रामको क्रममा राजाका सारा सेनाहरूलाई कामधेनुले सजिलै भोजनको व्यवस्था गरेको देखेर उनले कामधेनुलाई जबरजस्ती त्यहाँबाट उठाएर लगे । यो कुरा परशुरामले चाल पाएपछि उनले कार्तवीर्य अर्जुनका सबै हजार भुजाहरू काटेर उनको वध गरिदिए । कार्तवीर्य अर्जुनको वधको बदला उसका पुत्रहरूले जमदग्रि मुनिको वध गरेर फिर्ता लिए । क्षत्रीयहरूको यस्तो नीच कर्म देखेर परशुराम अति क्रोधित भए र उनले कार्तवीर्यका सारा पुत्रहरूको वध गरिदिए । जुन–जुन क्षत्रीहरूले उनीहरूको साथ दिएका थिए, परशुरामले ती सबैको वध गरिदिए । यसप्रकार परशुरामले २१ पटक धर्तीलाई क्षत्रीयविहिन बनाइदिएका थिए ।
अमर छन् परशुराम
हिन्दु धर्मका ग्रन्थहरूमा केहि महापुरुषहरूको वर्णन गरिएको छ, जसले अमरत्वको वरदान पाएका थिए । यिनीहरूलाई अष्टचिरञ्जीवी भनेर पनि चिनिन्छ । जसमा भगवान विष्णुका आवेशावतार परशुराम पनि पर्दछन् ।
अश्वत्थामा बलिव्र्यासो हनूमांश्व विभीषण ।
कृपः परशुरामश्व सप्तैते चिरञ्जीविन ।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमनथाष्टमम् ।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित ।।
यस श्लोकमा अश्वत्थामा, राजा बलि, महर्षि वेदव्यास, हनुमान, विभिषण, कृपाचार्य, भगवान परशुराम तथा ऋषि मार्कण्डेय अमर छन् भनेर उल्लेख गरिएको छ ।