
नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको चिया क्षेत्रले आफ्नो स्थापनाको १६२ औं वर्ष पार गर्दै गर्दा ३० औं राष्ट्रिय चिया दिवस मनाउँदैछ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो वर्षको राष्ट्रिय चिया दिवस आज चियाको उद्गमस्थल इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा विशेष समारोहका बिच मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र तथ्याङ्क अनुसार नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो पहिचान बनाउँदै मुलुकको व्यापार घाटा न्यूनीकरणमा समेत उल्लेखनीय योगदान पु¥याइरहेको छ । बोर्डका कार्यकारी निर्देशक फइन्द्रराज पाण्डेका अनुसार यो लामो यात्रामा चिया क्षेत्रले थुप्रै आरोह–अवरोह खेपे पनि हाल यो क्षेत्र हजारौँको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ ।
बोर्डले उपलब्ध गराएको आर्थिक वर्ष २०८१/८२ को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा चिया खेतीको आयतन र उत्पादन दुवैमा सुधार देखिएको छ । हाल नेपालभर कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती भइरहेको छ । यो क्षेत्रफलबाट वार्षिक २ करोड ६१ लाख २३ हजार १११ किलो तयारी चिया उत्पादन भएको छ । चिया क्षेत्रमा १५ हजार १३२ जना साना कृषकहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । देशभर १७० वटा ठुला टि–स्टेट र साना तथा मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा रहेका छन् । चिया बगानदेखि प्रशोधन केन्द्रसम्म गरी नेपालमा करिब ६० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन ठुलो भूमिका खेलेको छ ।
नेपालको चिया उत्पादनको मुख्य केन्द्र कोशी प्रदेश हो । तथ्याङ्क अनुसार झापा जिल्ला उत्पादनको हिसाबले सबैभन्दा ठुलो जिल्ला हो । झापामा मात्र १० हजार ३४० हेक्टर जमिनमा खेती भई १ करोड ९५ लाख ६६ हजार ७९५ केजी चिया उत्पादन भएको छ, जसको ठुलो हिस्सा सिटिसी चियाको छ । त्यसैगरी इलाम जिल्ला अर्थोडक्स र ग्रीन–टीका लागि प्रख्यात छ । इलाममा ७ हजार ३०९ हेक्टर जमिनबाट ६२ लाख ९१ हजार ३७३ केजी चिया उत्पादन भएको छ । इलाममा साना किसानहरूको सहभागिता सबैभन्दा बढी ७ हजार ६७४ जना रहेको छ । पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूले पनि गुणस्तरीय अर्थोडक्स चिया उत्पादनमा आफूलाई अब्बल सावित गरेका छन् । पछिल्लो समय भोजपुर, दोलखा, नुवाकोट र कास्की जस्ता जिल्लाहरूमा पनि व्यावसायिक चिया खेती विस्तार भइरहेको छ ।
नेपाली चियाको सबैभन्दा सबल पक्ष यसको निर्यात हो । बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालले १ करोड ५५ लाख ९८ हजार ६६० किलो चिया निर्यात गरेको छ । यसबाट नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । तुलनात्मक रूपमा चियाको आयात भने निकै न्यून छ । सोही अवधिमा नेपालमा १ लाख १३ हजार ३७२ किलो चिया मात्र आयात भएको देखिन्छ, जसको मूल्य ९ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ । विगत ६ वर्षको निर्यात अवस्थालाई हेर्दा २०७५/७६ देखि २०८१/८२ सम्म निर्यातको परिमाण र मूल्यमा क्रमिक वृद्धि भएको देखिन्छ । २०७५/७६ मा ३ अर्ब २० करोडको निर्यात भएकोमा अहिले त्यो बढेर साढे ४ अर्ब माथि पुग्नुले नेपाली चियाको माग विश्व बजारमा बढ्दै गएको पुष्टि गर्छ । नेपाली चिया क्षेत्रले केही गम्भीर चुनौतीहरूको सामना पनि गरिरहेको छ । बोर्डको प्रतिवेदन अनुसार नेपालबाट निर्यात हुने कुल चियामध्ये ८६ प्रतिशत हिस्सा भारतमा जाने गरेको छ । एउटै बजारमा यति धेरै निर्भरता हुनु जोखिमपूर्ण मानिन्छ । भारतीय बजारमा हुने सानो फेरबदल वा अवरोधले नेपाली चिया क्षेत्रलाई नै धराशायी बनाउने जोखिम रहन्छ ।
बोर्डले ‘बजार विविधीकरण’ लाई प्राथमिकतामा राखेको छ । भारत बाहेक तेस्रो मुलुकहरू जस्तै जर्मनी, अमेरिका, जापान, चीन र खाडी मुलुकहरूमा नेपाली अर्थोडक्स चियाको सिधा पहुँच पु¥याउन आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता देखिएको छ । नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचानका लागि गुणस्तर प्रमाणीकरण सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । बोर्डले नेपालमा खाद्य प्रविधि प्रयोगशालाको सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । आफ्नै मुलुकमा अत्याधुनिक प्रयोगशाला र अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली भएमा नेपाली चियाले अझ बढी मूल्य पाउन सक्ने र युरोपेली बजारमा सजिलै प्रवेश पाउने देखिन्छ । सरकारले चिया क्षेत्रलाई ‘निर्यातको प्राथमिकता’ मा राखे पनि सरोकारवालाहरूले अझै धेरै काम गर्न बाँकी रहेको औँल्याएका छन् । सिँचाइको समस्या, आधुनिक प्रविधिको अभाव, श्रमिक समस्या र बढ्दो लागत चिया क्षेत्रका मुख्य तगाराहरू हुन् । तथापि, बोर्डले अघि सारेको ‘स्वस्थ चिया, दिगो बजार’ को अवधारणाले यी समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
निजी क्षेत्रको अथक प्रयास र सरकारको समन्वयकारी भूमिकाका कारण नेपाली चिया विश्व बजारमा एउटा ‘ब्राण्ड’ को रूपमा स्थापित हुन थालेको छ । नेपालमा चिया खेतीको इतिहास १९२० देखि सुरु भएको हो । तत्कालीन बडाहाकिम कर्नल गजराज सिंह थापाले चीन भ्रमणबाट फर्कँदा उपहार स्वरूप प्राप्त गरेको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा औपचारिक रूपमा चिया खेतीको जग बसेको थियो । सुरुवाती दिनमा सौख र घरायसी प्रयोजनमा सीमित चियाले आज डेढ शताब्दी पार गर्दा नेपालको प्रमुख निर्यातजन्य नगदे बालीको रूपमा आफूलाई स्थापित गरिसकेको छ ।
