इलाम, १७ वैशाखः राजधानी काठमाडौंमा रहेका इलामबासीहरुलाई सहयोग गर्न गठन गरिएको काठमाडौं उपत्यका कोरोना भाईरस (कोभिड १९) राहत तथा सहयोग समितिलाई इलामस्थित दुई संस्थाले सहयोग उपलब्ध गराएको छ । उक्त समितिको काठमाडौंस्थित राहत संकलन गर्नको लागि माछापुच्छ्र बैंकमा खोलिएको खातामा जिल्ला समन्वय समिति, इलाम र लाहुरे समाज सिंगापुरद्धारा पचास/पचास हजार गरी जम्मा एक लाख रुपैंयाँ जम्मा गरिएको हो । उक्त रकम राहत तथा सहयोग प्रयोजनको लागि खर्च गरिनेछ । काठमाडौंमा बसोबास गर्ने इलामेहरु राधेश्याम लेकाली, अर्जुन भट्टराई, तुलसी बस्नेत र ईश्वर श्रेष्ठको संयुक्त नाममा माछापुच्छ्रे बैंकमा ५१२२५२४९६४१८६०१६ नम्बरको खाता खोलिएको इलाम नगरपालिकाका प्रशासकिय अधिकृत राम शाहले जानकारी दिएका छन् ।