बैसाख १८, इलाम : इलाम नगरपालिकाको सब्जीमण्डीमा सदाझै आज पनि व्यस्त देखिए होमबहादुर । विहान भरि खुल्ने उनको सब्जी पसल प्रशासनले सुझाए झै १० बजे बन्द हुन्छ । अनि बेलुका पुन ४ बजेदेखि ६ बजेसम्म खुल्छ । होमबहादुर र उनकी श्रीमती त्यहि सब्जमण्डीको सानो टहरामा सागसब्जीको ब्यापार गरेको ९ महिना भयो । अहिले नगरपालिकाले सब्जीमण्डी अस्पताल छेउ सारेपछि उनले पनि आफ्नो पसल त्यतै सारे । सदा भन्दा लकडाउनको समयमा उनको व्यापार आधा जसो पनि छैन । तर खाडीमा पसिना बगाएर कमाएको भन्दा चाहि राम्रै आम्दानी गर्छन् उनी । खाडीमा साथ दिन उनको श्रीमती त्यहाँ थिइनन् तर अहिले दिन रात साथ दिने उनको श्रीमती छिन् । सन्दकपुर गाउँपालिका वडा नं. २ का होमबहादुर सुनुवार एक बर्ष अघिमात्र बैदेशिक रोजगारबाट फर्किएका हुन् ।
बेरोजगारी नै मुख्य कारण बनेको थियो होमबहादुर लाई बिदेश पठाउने मुख्य कारण । खाडीको रापिलो घाममा उनले ५ बर्ष आफ्नो पसिना बगाए । उनी भन्छन्, ‘खाडीको भन्दा त कत्ति हो कत्ति राम्रो अहिले छ नि हौ, सर ।’ उनले थपे, ‘भरअभरमा आफन्त साथीभाई परिवारको साथ पाईन्छ, विदेशमा भन्दा त राम्रै कमाई हुन्छ ।’ उनले आफ्नै देशमा पनि खटेर नलजाई काम गर्दा सफलता पाउन सकिने बताए । राहासल बाल अनाथालयमा आश्रित १५ जना बालबालिका र माईभगवती बृद्धआश्रममा आश्रित बृद्धबृद्धालाई एक एक बोरा साग सहयोग गर्न होमबहादुरले आज हाम्रो सहयोग मागेका थिए ।
अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई एक बोरा साग हस्तान्तरण गरेपछि उनले ती बालबालिकाको कथा पनि सुने । बृद्धआश्रममा अर्को बोरा साग हस्तातरण गरेर सञ्चालनको विषय पनि चाख माने सुने । फर्किने क्रममा उनले भने, ‘यो २ बोरा साग त कत्ति पनि होइन सर, लकडाउनको बेला सानो सहयोग गर्नु पाउदा आत्मासन्तुष्टी भयो नि हौ ।’ उनले थपे, ‘फेरि हामी जस्तो निम्जो मान्छेले पनि सहयोग गर्दा हुन्छ भन्ने सन्देश पनि त राम्रै होईन र !’
खाडीबाट फर्किएपछि उनीसँग श्रीमती र छोराछोरीको साथ छ । आफ्नै गृह जिल्लामा बस्न पाएका छन् । माईपोखरी र माईमझुवाको लेकाली ताजा सागसब्जी इलामबासीलाई खुवाउन पाएका छन् । खाडीको जस्तै राम्रै कमाई छ । परदेशमा जस्तो कोरोनाको त्रास भयावह छैन । त्यसमा आजबाट थपिएको छ उनमा आत्मसन्तुष्टि ।