यी महादानीहरुको प्रशंसा गरेरमात्र पुग्दैन सायद । इलाम नगरपालिका फूलगाछीका कुबेर न्यौपाने, माईजोगमाई गाउँपालिका नामसलिङ इलामका चन्द्रु देवान, माईजोगमाई गाउँपालिका ६ प्याङ इलामका पवन थेवे र इलाम नपा धोबिधाराका निर्जल बिक्रम बुढाथोकी । यी चार पात्रले इलाममा अघिल्लो हप्तामात्र खाद्यान्न वितरणको लागि आर्थिक सहयोग गरेका थिए । त्यो लगत्तै हामीलाई साक्षी राखेर १२ थान पिपिई इलाम अस्पताललाई सहयोग गरेका छन् भने नेपाल प्रहरीलाई ३०० थान सर्जिकल माक्स उपलब्ध गराएका छन् ।
४० हजार रुपैयाँ बराबरको यो सहयोगले इलाम अस्पताललाई ठूलो सहयोग प्राप्त भएको इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रभु शाहले बताए । दाताहरुलाई डा. शाहले धन्यबाद समेत ज्ञापन गरे । वितरकका अनुसार सो पिपिई लाई ८०० डिग्री फरेनहाइटसम्म ताप दिएर अटोक्लेभ गर्न मिल्छ । प्रहरीका लागि पठाइएको ३०० थान माक्स मध्ये ५० थान पीपी टावरको प्रहरी विटलाई हस्तान्तरण गरिएको छ भने २५० थान प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।
जिल्लाका प्रहरीहरुले हाल कपडाको माक्स प्रयोग गरिरहेका थिए । जुन माक्सले धुलोबाट मात्र बचाउन सक्ने विज्ञहरुले बताईरहेका छन् । काठमाण्डौबाट ति सामाग्रीहरु पठाउन सहयोग गर्ने इलाम नगरपालिका १२ का सरोज कटुवाल र इनपा ७ का विक्रम श्रेष्ठले महत्वपूर्ण सहयोग गरेका थिए ।महादानीहरुलाई हार्दिक नमन । तपाईहरुलाई सधै खान पुगोस्, दिन पुगोस् ।