
फुङ्लिङ (ताप्लेजुङ), १३ पुस । ताप्लेजुङमा उत्पादन हुने चिराइतोले यस वर्ष अपेक्षित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्म कारोबार भएको चिराइतो यस वर्ष भने बिक्री नै हुन नसकेको किसान र व्यापारी बताउँछन् ।मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष २० मन चिराइतो रु ४० हजारमा बिक्री गरेका थिए । व्यापारी घरमै आएर चिराइतो खरिद गरे पनि यस वर्ष भने सङ्कलन गरेर राखिएको चिराइतो खरिदका लागि कसैको सम्पर्क नआएको उनी बताउँछन् । “दाम कति हुन्छ भन्ने थाहा छैन, बिक्री हुन्छ कि हुँदैन भन्ने पनि अन्योलमै छ,” उनले भने ।
फक्ताङलुङ गाउँपालिका–६ आहालेका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतो खेतीमा संलग्न छन् । बीचमा वैदेशिक रोजगारीमा गएका उनी चिराइतोमा राम्रो सम्भावना देखेर पुनः गाउँ फर्किएका थिए । गत वर्ष मात्रै उनले १२५ मन चिराइतो खरिद गरी चीनको तिब्बत निर्यात गरेका थिए । “गत वर्ष तिब्बतमा प्रतिमन रु ४० देखि ६५ हजारसम्म मूल्य पाइयो,” उनले भने, “तर यस वर्ष कारोबार शून्यजस्तै छ ।”
उनका अनुसार यस वर्ष उत्पादनसमेत घटेको छ । अघिल्लो वर्ष एउटै गाउँबाट २०० केजीसम्म चिराइतो सङ्कलन हुने ठाउँमा अहिले १०० केजी पनि नपुगेको अवस्था छ । हाल गाउँघरमा चिराइतो प्रतिमन (४० केजी) रु १७ देखि १८ हजारमा खरिद–बिक्री हुने गरेको व्यापारी राम ताम्मादेनले बताए ।
चिराइतो मुख्यतः ताप्लेजुङको तिप्ताला नाका हुँदै तिब्बतमार्फत चीन निर्यात हुँदै आएको छ । कोभिड–१९ का बेला नाका बन्द हुँदा निर्यात ठप्प भएपछि किसानले ठूलो क्षति बेहोरेका थिए । बजार नपाएपछि धेरै किसानले चिराइतो खेती छाडेको बताइन्छ । यद्यपि गत वर्षदेखि नाका खुलेसँगै पुनः निर्यात सुरु भएको भए पनि यस वर्ष भने माग कमजोर देखिएको व्यापारीको भनाइ छ ।
विगतमा ठूलो मात्रामा चिराइतो उत्पादन हुने फक्ताङलुङ–६ किसोङवाका केरसिं लिम्बूले मूल्यको अनिश्चितताका कारण चिराइतो खेती छाडेको बताए । “हरेक वर्ष मूल्य घटबढ भइरहन्छ, निश्चित बजार नहुँदा किसान निरुत्साहित हुँदै गएका छन्,” उनले भने । किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले उत्पादन निकै घटेको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्ष जिल्लाबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको थियो । आव २०७९/८० मा पाँच हजार ८०० केजी उत्पादन हुँदा रु ८७ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७७/७८ मा भने १६ हजार ३०० केजी चिराइतो सङ्कलन हुँदा रु दुई लाख ४४ हजारभन्दा बढी राजस्व उठेको तथ्याङ्क छ । यसले पछिल्ला वर्षहरूमा चिराइतो उत्पादन घट्दो क्रममा रहेको देखाउँछ ।
व्यापारीका अनुसार चिराइतो सङ्कलन र निकासी प्रक्रियामा झन्झटिलो प्रक्रिया, ढुवानी कठिनाइ र बजारको अनिश्चितता मुख्य चुनौती बनेका छन् । चिराइतो झार वर्गको वनस्पति भए पनि २८ महिनापछि मात्रै सङ्कलन योग्य हुन्छ। एकपटक लगाएपछि भने हरेक वर्ष पुनः रोप्न नपर्ने किसान बताउँछन् ।
नेपालमा उत्पादन हुने चिराइतोको करिब ९० प्रतिशत विदेश निर्यात हुन्छ । वनस्पति विभागका अनुसार कुल निर्यातमध्ये करिब ८० प्रतिशत भारतमा र बाँकी चीनसहित युरोप तथा एसियाका विभिन्न देशमा जाने गर्दछ । आयुर्वेद, युनानी, होमियोप्याथी र तिब्बती चिकित्सामा चिराइतो ज्वरोनाशक, पित्तनाशक, बलवर्द्धक र छालारोग उपचारका लागि प्रयोग हुँदै आएको छ ।


