इलाम,१०माघः इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेचीराजमार्गमा खटिएको प्रहरी टोलीले खैरो हिरोइन जस्तो लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।माघ १० गते मध्यान्ह १२:४० बजे प्रहरी चौकी किटेनी इलामका प्रनानी राजन कटुवालको नेतृत्वमा खटिएको चेकिङ टोलीले झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५०७५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सूर्योदय नगरपालिका–६ कन्याम गुम्बाटोलका २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद ४,८६५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकल चालक सूर्योदय नगरपालिका–८ डम्बुगाउँका ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद १,५५० रुपैयाँ बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम लगिएको छ।