ग्रीन इलाम सम्वाददाताः आर्शिका देवान, बरुना अधिकारी, प्रगति अधिकारी र सेमस राईले आठौं आर्या मेमोरियल अवार्ड जितेका छन् । ग्रीनभ्याली एकेडेमी विद्यालयको कक्षा एलकेजीमा १०० प्रतिशत सर्वोत्कृष्ट अङ्क ल्याई उत्तिर्ण गर्ने चार जना विद्यार्थीहरुले जनही नगद रु २ हजार ५ सयसहित अवार्ड हात पारेका हुन् ।
कोरोना महामारीका कारण २ बर्ष स्थगित भएको अवार्ड वितरण यस बर्ष ग्रीन भ्याली एकेडेमीले एक कार्यक्रमको आयोजना गरि सो अवार्ड वितरण गरेको हो । विजेतलाई विद्यालयका प्रधानाध्यापक राजन माइकल गुरुङ, ट्रष्टका सदस्य लाक्पा लामा, अर्का सदस्य सुदिप श्रेष्ठले अवार्ड वितरण गरि खदा र अविर पहिराइदिएका थिए । प्रत्येक बर्ष कक्षा एलकेजीमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई १० बर्ष यता सो अवार्डले सम्मान गर्न शुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक राजन माइकल गुरुङले जानकारी दिए । ११ बर्ष अघि सोहि विद्यालयको कक्षा एलकेजीमा अध्ययन गर्ने छात्रा आर्या दहालको स्मृतिमा अवार्ड वितरण गर्न शुरु गरिएको थियो । व्लड क्यान्सरका कारण अल्पायुमै निधन भएपछि आर्या दहालका बुबा डाक्टर हिमाल दहाल र आमा डाक्टर आशा कार्कीले विद्यालयमा एक ट्र«ष्ट खडा गरि पुरस्कार वितरण शुरु गरेका हुन् । कार्यक्रममा आर्या मेमोरियल ट्रष्टका सदस्य सुदिप श्रेष्ठले अवार्ड वितरण गरेका थिए ।
अवार्डको पुरस्कार राशी बृद्धि गरि अवार्डलाई निरन्तरता दिन ट्रष्टकी डा. आशा कार्कीले पुन ट्रष्टमा एकलाख रकम थप समेत गरेकी थिइन् । कार्यक्रममा आर्याको स्मृतिमा एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीको अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।