इलाम, ३ असारः बढ्दै गईरहेको जलवायु परिवर्तन र यसबारे सरोकार राख्ने सबैले समयमै सचेतना अपनाउनु पर्ने शुक्रबार इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा बताईएको छ । सहयात्रा नेपाल र यससँग सहकार्य गरेको इलाम नगरपालिकाको ७ वटा संस्थाहरुको वहुसरोकार मञ्चले आगामी आर्थिक वर्षको योजना र बजेटमा लैंगिक न्यायसंगत जलवायु अनुकुलन र उत्थानशीलता निर्माणका उपायहरुको लागि आयोजित सचेतना कार्यक्रमका सहभागीहरुलाई जलवायु परिवर्तन र कृषि क्षेत्रमा यसको प्रभाव बारे इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले जानकारी गराउनु भएको थियो । त्यस्तै जलवायुको प्रभाव कसरी विश्वभर तथा नेपालमा परिरहेको छ भन्ने बारेमा इलाम नगर वातावरण शाखा प्रमुख लुना खतिवडाले जानकारी
गराउनु भएको थियो ।
कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले संस्थाले विगतका दिनहरुमा संचालन गरेको कार्यक्रमहरुको जानकारी गराउनु भएको थियो । वि.सं.२०७१ सालमा स्थापित संस्थाले दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग गर्दै आएकोमा अन्य बालबालिकाहरुलाई सहयोग कार्यक्रम, खानेपानी मुहान संरक्षण, कोभिड महामारीको बेला खाद्यान्न र स्वास्थ्यजन्य सामाग्री वितरण गरिएको अध्यक्ष शिवाले जनाउनु भयो । कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णु दहाल लिम्बु, इलाम नगर प्रवक्ता नुतनदेव दुलाल, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक नरेश श्रेष्ठ, वडा नं. ६, ८ र ११ का वडाध्यक्ष क्रमशः दुर्गा श्रेष्ठ, दलमान तामांंग र टासी जवेगुको उपस्थिति रहेको थियो ।