इलाम, १७ असारः नेपालको एकमात्र हर्टिकल्चर पढाई हुने इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत हर्टिकल्चरका विद्यार्थीले मापदण्ड पुगेका विषयमा लोकसेवा परीक्षा दिन पाउनुपर्ने मागसहित आन्दोलन शुरु गरेका छन् । उनीहरुले संघर्ष समितिको पहलमा आन्दोलन सुरु गरेका हुन् ।
आफूहरूलाई लोकसेवा आयोगमा हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा पनि प्रतिस्पर्धा गर्न दिनुपर्ने उनीहरूको माग छ । यसैगरी मापदण्ड पुगेका विषयहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रीकल्चर पढ्न पाउनुपर्ने पनि उनीहरूले माग राखेका छन् । क्याम्पस प्रशासनले कृषि विभाग, मन्त्रालयहरुमा समन्वय गरेर समस्या समाधानको लागि पहल गरिदिन सो संकायका विद्यार्थी महिमा गौतमले बताईन । देशका विभिन्न जिल्लाहरुबाट आएका करिब ३७ जना विद्यार्थीहरु अहिले उक्त विषय अध्ययन गर्दै आईरहेका छन् ।
आन्दोलनसँग सम्बन्धित भिडियो यस अनलाईनको फेसबुक पेज ilam green मा उपलब्ध छ ।