बैसाख २३, इलाम: उनलाई टुटल र पठाओको बारेमा उत्ति थाहा छैन । नेपालका ठूला शहरमा दुईपाङ्ग्रे सवारीले मान्छे बोक्छन् भन्ने सुनेका सम्म छन् उनले । मालापथ इलाम बस्ने गोपाल प्रसाई भने उनको होन्डा साइन मोटरसाईकलमा मान्छे मात्र होईन, सामान ढुवानी समेत गर्छन् । इलामको एक निजी विद्यालयमा लामो समयसम्म सहायकस्तरमा काम गरेका गोपालले आम्दानीको बिकल्पको रुपमा मोटरसाईकललाई ढुवानीको साधनको रुपमा प्रयोग गरेको ६ महिना जति भयो ।
पसलबाट मानिसको घरसम्म कहिले ग्याँस सिलिण्डर ओसारिरहेका भेटिन्छन् भने कहिले चामलको बोरा । यस पेसाबाट उनले राम्रो आम्दानी गरिरहेको बताइरहेका छन् । उनी भन्छन्, ‘धेरै राम्रो कमाई गरिरहेको छु ।’ हाल उनले यस पेशालाई वैधानिक बनाउन सरकारी निकायमा दर्ता गर्ने सोच बनाएका छन् । मोटरसाईकल तथा तिनपाङ्ग्रे अटोले दुध तथा ग्याँस नियमित रुपमा इलाम बजारमा ढुवानी गरेको उदाहरण दिदै उनी भन्छन्, ‘दुध त इलाममा पहिले देखि नै मोटरसाईलबाट ढुवानी भईरहेको छ । अटोले खाद्यान्न तथा अरु सामान बोकेकै छ । उसो भए मैले पनि यसरी सेवा दिन पाउछु । बरु यसलाई आधिकारीक बनाउन लकडाउन खुल्ने बित्तिकै काम गर्छु ।’ गोपालले मोटरसाईकलबाट सामान ढुवानी गरेर राम्रो आम्दानी गरेको इलाम बजारका हार्डवेयर तथा ग्याँस व्यापारी उत्तम ताम्राकारले बताए । उनले भने, ‘गोपालले मोटरसाईकलबाट ग्याँस, चामल, सब्जी ओसार्छ नि, सकेको जे सामान पनि ढुवानी गर्छ ।’
लकडाउनका कारण हाल भने गोपालको व्यवसाय सुस्ताएको छ । विहान र वेलुका खद्यान्न र ग्याँस पसल खुलेको बेला मात्र उनले काम गर्न पाएका छन् । उनले भने, ‘लकडाउन नहुदा त इलामका गाउँ गाउँ सम्म मानिस बोकेर पु¥याउथे, त्यो नि गाडी भाडा भन्दा सस्तो दाममा ।’
उनलाई सम्पर्क गर्न तपाई पनि चाहनुहुन्छ भने ९८४२७६९७१८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।