इलाम, १८ वैशाखः आजदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा लगानी सम्मेलन शुरुवात भएको छ । भोलि सम्म चल्ने सम्मेलनमा १ खर्ब ३९ अर्बको लगानी र ५४ आयोजना प्रस्तुत हुदैछ । लगानी सम्मेलनमा सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा हुनेछ । उद्योग क्षेत्रमा ६५ अर्ब ४० करोड लागतका ९ आयोजना प्रस्तुत गरिने छ । सबैभन्दा ठूलो आयोजना उदयपुरस्थित ३२ अर्ब लागतको उदयपुर क्लिंकर प्रोजेक्ट हो । २६ अर्बको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्टले सुनसरी र उदयपुरलाई समेट्ने छ । पर्यटन क्षेत्रका लागि १५ आयोजना छन् । जसको कुल लागत ३५ अर्ब ९७ करोड ५२ लाख छ । २५ अर्ब लागतको ताप्लेजुङ–इलाम पोड–वे परियोजना सबैभन्दा ठूलो परियोजना हो । पूर्वाधार क्षेत्रका लागि प्रस्तुत १४ आयोजनाका लागि ३१ अर्ब १ करोड लागत राखिएको छ । कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ आयोजना छन् भने ऊर्जा क्षेत्रमा २ अर्ब ७७ करोड लागतका २ आयोजना राखिएका छन् । इलामसँग सम्बन्धित तपसिलको परियोजनाहरु सोकेसमा राखिएको सम्मेलनमा सहभागीता गरिरहनु भएका इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनु भएको छ । इलामसँग सम्बन्धित परियोजनाहरु सोकेसिङ गर्नको लागि विभिन्न दाताहरुसँग काठमाडौंमा विभिन्न चरणहरुमा छलफल गरिएको प्रमुख थापाले जानकारी दिनु भएको छ ।
कन्काई–इलाम–सन्दकपुर पोड–वे
कन्काई–इलाम पोडवे परियोजनाले न्यूनत्तम शहरी पूर्वाधार, अक्षम यातायात प्रणाली र ट्राफिक जामजस्ता विद्यमान चुनौतीलाई समाधान गर्छ । कनकाईदेखि सन्दकपुर नगर क्षेत्रसम्म सार्वजनिक यातायात पूर्वाधारको विस्तारमा ध्यान केन्द्रित गरी प्रदेश सरकारले लगानी सम्मेलनमा यो परियोजनालाई समावेश गरेको छ । परियोजनाले वास्तविक यातायात प्रणाली र उन्नत सुविधाका साथ माग आपूर्ति अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । आयोजनाले प्रदेशको आय, रोजगारी र आर्थिक वृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
कन्याम मोनोरेल परियोजना
मोनोरेल पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्नेछ । यो नेपालकै पहिलो मोनोरेल सेवा हुनेछ । जसले कन्यामको वडा नं ६ देखि वडा नं ८ मानेडाँडासम्मको सात किलोमिटर दूरी तय गर्नेछ ।
बुद्धपार्क चित्रे गुम्बा केबलकार परियोजना, इलाम
सूर्योदयमा वार्षिक पर्यटकको चाप २।५ लाखभन्दा बढी हुने र अधिकांश पर्यटकले चिया बगानको भ्रमण गर्ने साथै अन्तुडाँडाबाट सूर्योदय अवलोकनबाहेक अन्य कुनै मनोरञ्जनात्मक गतिविधि गर्दैनन् । यहाँ पर्यटकलाई कम्तिमा ३ दिनका लागि होल्ड गर्न र मनोरन्जनात्मक गतिविधि थप गर्न सकिन्छ । प्रस्तावित केबलकार यसका लागि उपयोगी हुनेछ प्रदेश सरकारको विश्वास छ ।
देउमाई कफी फार्म
इलामको देउमाई नगरपालिका वडा नं ५ जितपुरमा बृहत् कफी खेती परियोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ । यो परियोजनाको प्रारम्भिक चरणमा एक हजार रोपनी जग्गामा प्रिमियम गुणस्तरको अरेबिका कफी खेतीमा केन्द्रित छ । घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि उच्च मूल्यको कफी उत्पादन गर्न यो परियोजना आवश्यक हुनेछ । जैविक र आधुनिक प्रविधिको संयोजन गर्दै दिगो कृषिका लागि नमूना फार्म निर्माण गर्ने कोशी प्रदेश सरकारको लक्ष्य रहेको छ ।
डेरी उत्पादन तथा प्रशोधन उद्योग
इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । र, दूग्धजन्य पदार्थका लागि उचित बजार छ । आर्थिक दृष्टिले नेपाल कृषिमा आधारित छ । जहाँ पशुपालन देशको मेरुदण्ड हो । डेरी उद्योग स्थापनाले अद्वितीय उत्पादन अभ्यास र उपभोक्ता र बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कोशी प्रदेश सरकारको विश्वास छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशहरूमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित उत्पादन हो । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।
छुर्पी उद्योग परियोजना
इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । दुग्धजन्य पदार्थहरूका लागि उचित बजार पनि छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित भएर उत्पादन हुन्छ । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।
माईखोला इको टुरिजम एण्ड रिर्जभेसन डेभलोपमेन्ट प्रोजेक्ट
माईखोला र जोगमाई खोला दोभानबाट केही तल माईखोलामा ड्याम बनाएर इको टुरिजम संचालन गरिने यो परियोजनाको मुख्य उद्देश्य हो ।
पाटेनागी रिसोर्ट
रेडपाण्डा संरक्षित नेपालकै पहिलो वनक्षेत्र नजिकै रिसोर्ट बनाएर आउने पाहुनाहरुलाई रेडपाण्डा अवलोकन गराउने यो परियोजनाको मुख्य अवधारणा रहेको छ ।