इलाम, भदौ १९ः लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पु-याउन आगामी असोज ४ गते (सेप्टेम्बर २०, २०२५, शनिबार) इलाममा रेड पाण्डा म्याराथन २०२५ आयोजना हुने भएको छ। दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा तथा प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा हुने सो म्याराथन इलाम चोक बजारदेखि सन्दकपुरसम्म सञ्चालन गरिनेछ।
आयोजकहरूले रेड पाण्डा संरक्षणसँगै पर्यटन प्रवर्द्धन, अनुसन्धान, जीविकोपार्जन र शैक्षिक अभियानलाई समेत यस म्याराथनमार्फत जोड्ने उद्देश्य लिएका छन्। कार्यक्रममा नेपाली सेना रण शार्दूल गण, इलामले प्राविधिक सहयोग गर्नेछ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनस्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला खेलकुद विकास समिति र पत्रकार महासंघ प्रत्यक्ष सरोकारवालाको भूमिकामा रहनेछन् भने इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको विशिष्ट भूमिका रहनेछ ।
गत वर्ष ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथनको निरन्तरताका रुपमा यस वर्ष इलाममा प्रतियोगिता आयोजना गरिएको हो। दातृ निकायका प्रतिनिधि वाङ्चु भुटियाले खेलमार्फत संरक्षण सन्देश प्रवाह गर्न सकिने र समुदायलाई रेड पाण्डा संरक्षणमा थप जागरुक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। आज पत्रकार महासंघ इलाम शाखामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै कार्यक्रम संयोजक राम रिमालले प्रतियोगिताको दुरी ४४.२ किलोमिटर रहने र प्रारम्भिक उचाइ १,२२० मिटरदेखि ३,६१० मिटरसम्म हुने बताए। संचारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै आयोजक संस्थाका कार्यकारी निर्देशक सुनिल बान्तवाले पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय श्रेणी गरी तीन वर्गमा प्रतिस्पर्धा हुने जानकारी दिए।
प्रतियोगितामा पुरुष र महिला खुल्लातर्फ दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ भने स्थानीय श्रेणीका लागि पाँच सय रुपैयाँ लाग्नेछ। सहभागीहरूले QR कोड स्क्यान गरेर अनलाइनमार्फत पनि दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सफल सञ्चालनका लागि विशेषज्ञको भूमिकामा गणेश खतिवडा र सुनील देउलालाई नियुक्त गरिएको आयोजकले जनाएको छ।