
इलाम । इलामको देउमाई नगरपालिकाले सडक मर्मत कार्यलाई निरन्तरता दिन ठुला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने म्याद थप गरेको छ । गाङ्ग्रेभञ्ज्याङ-जितपुर-सोयाक-खरायोडाँडा-वेलासे सडक अन्तर्गत पँखेलुङ-सोयाक-खरायोडाँडा-वेलासे खण्डमा निरन्तर वर्षाका कारण क्षति पुगेको थियो । उक्त क्षतिग्रस्त सडक खण्डलाई मर्मत गरी नियमित रूपमा सवारी साधन सञ्चालन योग्य बनाउन देउमाई नगरपालिकाको कार्यालय र निर्माण व्यवसायीबाट काम भइरहेको छ। मर्मत कार्यलाई पूर्ण रूपमा सम्पन्न गर्न थप केही समय लाग्ने देखिएको छ। सडक मर्मतको काम छिटो र सहज रूपमा सम्पन्न गर्न साउन २२ गतेदेखि साउन २८ गतेसम्म ठुला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । नगरपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘सडक मर्मतको यस अवधिमा दमकल, दूधका गाडी र एम्बुलेन्स वा अत्यावश्यक सेवाका गाडीहरू भने नियमित रूपमा सञ्चालन भइरहने छन्।’

सडक खण्ड भएर यात्रा गर्ने यात्रु, सवारी चालक तथा यातायात व्यवसायीहरूलाई पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गरेको छ। स्थानीय विकासको यस कार्यमा सबैको पूर्ण सहयोगको अपेक्षा गरिएको नगर प्रमुख सूर्य प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।



