
२५असार, तेह्रथुम । नेपालको पूर्वी पहाडी क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका याक्थुङ (लिम्बु) समुदायको आफ्नो भाषा, लिपि, धर्म, मुन्धुम, कला, संस्कृति, रीतिरिवाज र जीवनपद्धतिका कारण बहुजातीय नेपाली समाजमा छुट्टै पहिचान बोकेको समुदाय हो ।कृतिलाई जीवनको आधार मानेर विकसित भएको लिम्बु सभ्यताले पुस्तौंदेखि मौलिक संस्कृतिलाई निरन्तरता दिँदै आएको छ । यही सभ्यताको अमूल्य सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सांस्कृतिक चिनारी हो– केलाङ (च्याब्रुङ) । केलाङ केवल एउटा बाजा वा नृत्य मात्र होइन, लिम्बु समुदायको इतिहास, विश्वास, सभ्यता, सामुदायिक एकता र सांस्कृतिक चेतनाको जीवन्त अभिव्यक्ति हो । यसको प्रत्येक तालमा पुर्खाको कथा छ, प्रत्येक पाइतालामा प्रकृतिप्रतिको सम्मान छ र प्रत्येक धुनमा याक्थुङ सभ्यताको आत्मा धड्किरहेको अनुभूति हुन्छ ।
पूर्वी नेपालका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा बसोबास गर्ने लिम्बु समुदायका हरेक शुभकार्यमा केलाङको धुन गुञ्जिन्छ । उधौली–उभौली, चासोक तङनाम, विवाह, घरप्रवेश, नयाँ घर निर्माण, पाहुना स्वागत, सामुदायिक उत्सव तथा विभिन्न सांस्कृतिक समारोहमा च्याब्रुङ बजाउने परम्परा आज पनि उत्तिकै जीवन्त छ । गाउँमा विवाह,चाडपर्व, मेला–महोत्सवमा काँधमा च्याब्रुङ झुन्ड्याएर बजाइने लयसँगै युवायुवतीहरू गोलाकार भएर नाच्न थालेपछि वातावरण नै सांस्कृतिक उत्साहले भरिन्छ । त्यहाँ केवल नाचगान हुँदैन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सभ्यता पुन: जीवन्त बन्छ । च्याब्रुङ काठको गोलाकार ढुंग्रोमा दुवैतर्फ पातलो छाला मोडेर बनाइन्छ । एउटा हातले सिधै छाला बजाइन्छ भने अर्को हातमा सानो काठको लट्ठी प्रयोग गरिन्छ । लिम्बु समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको प्रारम्भदेखि नै मानव सभ्यताको विकाससँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याब्रुङ बजाउन सुरु भएको विश्वास गरिन्छ । त्यसैले केलाङ केवल मनोरञ्जनको साधन होइन, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जीवन्त सम्पदा हो ।
च्याब्रुङको आधारभूत ताललाई कसरक्पा हो भनिन्छ । यही ताललाई आधार बनाएर अवसर अनुसार फरक–फरक लय सिर्जना गरिन्छ । कहिले वृत्ताकार, कहिले अर्धवृत्ताकार त कहिले सीधा पङ्क्तिमा प्रस्तुत गरिने केलाङ नृत्यमा सहभागी सबै कलाकार एउटै लयमा अघि–पछि पाइला चल्छन् । यस नृत्यको सबैभन्दा आकर्षक पक्ष भनेको प्रकृतिको जीवन्त प्रस्तुति हो । कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, पुतली, सर्प, दुम्सी, मृग, बाँदरलगायतका चराचुरुङ्गी र वन्यजन्तुको चालढाल, स्वभाव र गतिलाई नृत्यमार्फत प्रस्तुत गरिन्छ । यसले लिम्बु समुदाय प्रकृतिसँग कति नजिक छ भन्ने स्पष्ट देखाउँछ । केलाङमा गाइने मुन्धुमले सृष्टिको उत्पत्ति, मानव जीवन, प्रकृति, कृषि, समाज, पूर्वज र आध्यात्मिक चेतनाको व्याख्या गर्छ । त्यसैले यो नृत्य केवल शरीरको गति होइन, ज्ञान, दर्शन र मौखिक इतिहासको पनि अभिव्यक्ति हो ।

म्याङलुङ नगरपालिका–५ टीआर सेनेहाङका अनुसार च्याब्रुङ नाच्ने र मुन्धुम गाउने अग्रजहरू विस्तारै वृद्ध हुँदै गएका छन् । नयाँ पुस्ताले समयमै यसको संरक्षणमा ध्यान नदिए यो अमूल्य सांस्कृतिक सम्पदा संकटमा पर्न सक्ने उनले बताए । उनले भने, ‘पुर्खाले जोगाएर ल्याएको संस्कृतिलाई अब युवापुस्ताले निरन्तरता दिनुपर्छ । भाषा, मुन्धुम र केलाङ जोगियो भने हाम्रो पहिचान पनि जोगिन्छ ।’
तेह्रथुमको छथर गाउँपालिकाका काजीमान आङ्खेवाका अनुसार च्याब्रुङले समुदायलाई एकताबद्ध बनाउने, दु:ख–सुख साट्ने र सामाजिक सम्बन्धलाई मजबुत बनाउने माध्यमको रूपमा काम गर्दै आएको छ । ‘उधौली–उभौलीमा राम्रो उत्पादनको कामना गर्न, विवाहमा नयाँ दाम्पत्य जीवन सफल होस् भन्ने विश्वास व्यक्त गर्न तथा घरप्रवेशमा शुभकामना दिन फरक–फरक ताल र शैलीमा च्याब्रुङ बजाइन्छ’, उनले भने ।
लिम्बु संस्कृतिक अभियन्ता दिल पाक्साङवाका अनुसार च्याब्रुङ लिम्बु सभ्यताको जीवित इतिहास हो । ‘च्याब्रुङ हाम्रो पुर्खाले हजारौं वर्षदेखि जोगाएर ल्याएको अमूल्य सम्पदा हो । यसले हाम्रो इतिहास, संस्कृति र पहिचानलाई आजसम्म जीवित राखेको छ’, उनको भनाइ छ ।
डा.कमल तिगेलाका अनुसार पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा च्याब्रुङले लिम्बु समुदायको प्रतिनिधित्व गरिरहेको छ । विभिन्न देशमा बसोबास गर्ने लिम्बु समुदायले समेत चासोक तङनाम, उभौली–उधौली तथा सांस्कृतिक कार्यक्रममा च्याब्रुङलाई अनिवार्य रूपमा प्रस्तुत गर्दै आएका छन् ।
लिम्बु कलाकार तथा सांस्कृति अभियन्ता यासेली योङहाङका अनुसार यसको उत्पत्ति प्रकृतिको लयसँग जोडिएको छ । चराचुरुङ्गीको आवाज, वन्यजन्तुको चाल र प्राकृतिक गतिबाट प्रेरित भएर पुर्खाहरूले यसको विकास गरेको जनविश्वास रहेको उनले बताए । उनका अनुसार लिम्बुहरूको मुन्धुम, लोकविश्वास, कृषि संस्कृति र सामुदायिक जीवनसँग च्याब्रुङको गहिरो सम्बन्ध छ । यही कारण यसलाई केवल बाजा नभई सम्पूर्ण सभ्यताको प्रतीक मानिन्छ ।
आधुनिक संगीत, डिजिटल प्रविधि र बदलिँदो जीवनशैलीका कारण धेरै मौलिक संस्कृति ओझेलमा पर्दै गएका छन् । तर, च्याब्रुङप्रतिको आकर्षण भने अझै जीवित छ । तेह्रथुमका हेमप्रकाश लिम्बुका अनुसार अहिलेका युवायुवती पनि तालिम लिएर च्याब्रुङ बजाउन र केलाङ नाच्न उत्साहित छन् । स्थानीय तह, सांस्कृतिक संस्था तथा विद्यालयहरूले सञ्चालन गरिरहेका तालिम, प्रतियोगिता, महोत्सव र सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गरिरहेको छ ।
पछिल्लो समय केलाङलाई मौलिक सांस्कृतिक पर्यटनसँग जोड्ने प्रयास पनि बढिरहेको छ । तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामका विभिन्न सांस्कृतिक महोत्सवमा विदेशी तथा आन्तरिक पर्यटक च्याब्रुङको धुनमा रमाउने गरेका छन् । यदि यसको व्यवस्थित संरक्षण, अनुसन्धान, अभिलेखीकरण र पर्यटनसँग समन्वय गर्न सकियो भने यसले स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
संस्कृति कुनै समुदायको पहिचान मात्र होइन, इतिहास, ज्ञान र अस्तित्वको आधार पनि हो । त्यसैले केलाङ जोगाउनु भनेको एउटा बाजा जोगाउनु मात्र होइन, याक्थुङ सभ्यताको हजारौं वर्ष पुरानो इतिहास, मुन्धुम, भाषा, कला र संस्कृतिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नु हो ।




