
भारतको मौसम विज्ञान विभागले यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिनअघि नै देशमा भित्रिने सम्भावना देखिएको जनाएको छ।
भारत (केरला) मा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १ को हो। यद्यपि यो मितिमा दुई/चार दिन तलमाथि हुने गर्छ। यसपटक मनसुन ६ दिन अगाडि नै केरला आइपुग्ने संकेत देखिएको भारतको मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चार दिन अघिपछिको अन्तर राख्दै यसपालि मनसुन मे २२ देखि मे ३० सम्म कुनै पनि दिन मनसुन भारत आइपुग्ने आकलन गरिएको छ।
यसैबिच भारतमा चाँडै मनसुन भित्रिएका खण्डमा नेपालमा पनि यो अलि छिटै आइपुग्ने अनुमान गर्न सकिन्छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतमा मनसुन भित्रिने औसत मिति जुन १ हुँदा नेपालमा यसको औसत मिति जुन १३ तारिख हो।
‘अर्थात् भारतमा मनसुन प्रवेश गरेको १२/१३ दिनमा नेपाल आइपुग्ने गरेको छ’, उनले शनिबार नेपालखबरसँग भने, ‘यस हिसाबले भारतमा छिटै मनसुन आयो भने नेपालमा पनि त्यही हिसाबले अलि चाँडो आउने सम्भावना हुन्छ।’
यद्यपि यस विषयमा अध्ययन/अनुगमन जारी रहेकाले अहिले नै नेपालमा मनसुन भित्रिने मिति अनुमान गर्न नसकिने मौसमविद् अधिकारीको भनाइ छ।
गत वर्ष (२०८२) भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो।
नेपालबाट मनसुन बाहिरिने सरदर मितिचाहिँ अक्टोबर २ तारिख हो। तर यसमा पनि दुई/चार दिन तलमाथि हुने गर्छ।
गत वर्ष भने नेपालबाट मनसुन औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो।
नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। अहिले देशमा प्रि-मनसुन छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ लाई आधार मान्दा अब प्रि-मनसुन सकिन एक महिनाभन्दा कम समय बाँकी छ।
मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।
यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग
यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते नै जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो।
विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’
मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो।
यस वर्ष मनसुनमा यस्तो छ वर्षाको सम्भावना
मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।
कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

अधिकतम तापक्रमको आकलन
यस वर्ष मनसुनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तरपूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेश पश्चिमि भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।
कोसी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

न्यूनतम तापक्रमको आकलन
यस वर्ष बर्खामा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ।
जसअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।
कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भूभाग, मधेस प्रदेशका मध्य भूभाग र कोसी प्रदेशका मध्य तथा उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

आकलनका आधार
विभागले उक्त प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन र साउन एसिएन सिजनल क्लाइमेट आउटलुक फोरम (एसएएससीओएफ) को आकलनका आधारमा तयार गरेको हो।
साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकास हुने ईआई निनो एन्ड साउदर्न अस्किलेसन (ईएनएसओ) तथा हिन्द महासागरमा विकास हुने इन्डियन ओसिएन डाइपल (आईओडी) को हालको अवस्था तथा जलवायु प्रारूपहरूको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि-मनसुनको ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत ध्यान दिइएको छ।
हाल प्रशान्त महासागरमा ईएनएसओ तटस्थ (न्युट्रल) अवस्थामा रही ईआई निनो अवस्थातर्फ उन्मुख रहेको साथै हिन्द महासागरमा विकास हुने आईओडी हाल तटस्थ अवस्थामा रहेको र आगामी मनसुन ऋतुको अन्त्यसम्ममा धनात्मक अवस्थामा पुग्ने विश्वव्यापी प्रारूपहरूको आकलन पनि छ। यद्यपि ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने मौसम विभागको भनाइ छ।






Ratopati

