इलाम, ९ मंसिरः राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताउनुभयो । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए।
कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।
स्वास्थ्यखबरबाट