इलाम, २१ माघः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा माई हाइड्रोपावरले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनमा १८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरले ३१ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमाको जगेडा कोषमा ६५ लाख ४६ हजार रुपैयाँ संचित छ भने कम्पनीको संचित मुनाफा ७४ करोड २७ लाख रुपैयाँ छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत, जगेडा कोष ४४ प्रतिशत र संचित मुनाफा २८ प्रतिशत बढेको छ।
दोस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रोपावरले विद्युत बिक्रि बापत ५७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा साढे पाँच प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा कम्पनीले आफ्ना अन्य आयोजनामा एक अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ। सानिमाको प्रति शेयर आम्दानी १२।०२ रुपैयाँ छ। यस्तै, प्रति शेयर नेटवर्थ १२४।२५ रुपैयाँ र कम्पनीको अन्तिम कारोबार मूल्य ४५५ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ३७।८५ गुणा रहेको छ।