इलाम, १४ असारः इलाम नगरपालिका वडा नं. १२ साङ्गरुम्बाबाट प्रवासमा बस्ने साङ्गरुम्बाबासीहरुले सोमबार राहत वितरण गरेका छन् । सो वडाका ४८ घरधुरीलाई तीस केजी चामल, खानेतेल १ लिटर, दाल १ केजी, नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो । त्यस्तै अति विपन्न एक घर परिवारलाई नगद १० हजार रुपैंयाँ समेत प्रदान गरिएको थियो ।
राहत संकलनको लागि मलेसियाबाट किरण लिङदम, खिम शिवाकोटी, झरेन चोैहान दुबईबाट अनिस कार्की, दिपकिशोर लिङदम, दक्षिण कोरियाबाट भुवन लिङदम तथा व्यक्तिगत रुपमा अमेरिकाबाट धनबहादुर योङहाङ, बेलायतबाट निडुप तामाङ लगायतका युवाहरुबाट करिब २ लाख ५३ हजार रुपैंयाँ संकलन भएको थियो । संकलित रकम मध्ये १ लाख रुपैंयाँ बराबर राहतमा वितरण गरिएको, १ लाख रुपैंयाँ उक्त वडाको स्वास्थ्य चौकीको लागि अक्षयकोष स्थापना गरिने र बाँकी रकमले स्वास्थ्य चौकीको लागि स्वास्थ्य सामाग्री खरिद गरिने अभियन्ता अनिश कार्कीले बताएका छन् ।
युवाहरु मिले जस्तो सुकेै परिस्थिति सामना गर्न सकिने प्रवासमा रहेका दिपकिशोर लिङदम बताउछन् । त्यस्तै आउदा दिनहरुमा आफ्नो लागि मात्र नभएर छरछिमेक समाजको लागि पनि केही गर्न सके मानवताको भावना झल्कने कोरियामा रहेका प्रवासी भुवन लिङदम बताउछन् । लकडाउनको समयमा रोगले भन्दा बढी भोकले मान्छे बाँच्न गाहे भएकोले राहत वितरण गरिएको मलेसियामा काम गर्दै आएका अभियन्ता झरेन चोैहानले बताए । प्रवासी वडाबासीको यस कार्यलाई वडाध्यक्ष लाखमान लिङदमले सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।