इलाम, ४ जेठः झापा जिल्लामा बसोबास तथा व्यापार व्यवसाय गर्दै आएका इलामेली तथा झापामा क्रियाशिल “एकको लागि एक” अभियान द्धारा इलाम अस्पताललाई करिब दुई लाख रुपैंयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा आज मंगलबार गरिएको छ । इलामको युवा नेता तथा सहयोग संकलनका अभियन्ता निरोज खड्गीका अनुसार इलाम झापा समाजका विनोद बस्नेत, गजेन्द्र पौडेल श्याम खड्गी लगायतले यस कार्यमा सहयोग गरिरहेको जनाएका छन् । उक्त सामाग्रीहरु जेठ ५ गते बुधबार इलाम आईपुग्ने बताईएको छ ।
पछिल्लो समय इलाम जिल्ला र इलाम नगर क्षेत्रमा कोभिड संक्रमितहरुको संख्या चौगुना बढोत्तरी भएसँगै इलाम अस्पतालको अवस्थालाई लिएर अस्पताल व्यवस्थापन र इलामबाट निर्वाचित सांसदहरुले विषम परिस्थितिमा जिल्लामा कुनै चासो नदेखाएकोमा सामाजिक संजालमा चर्को आलोचना भईरहेको अवस्थामा इलामका अग्रज युवा तथा राजनैतिक दलमा आवद्ध अगुवाहरुले जिल्ला अस्पताल इलामको लागि सहयोग जुटाउने अभियान थालिएको नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र शर्माले ‘ग्रीन इलाम’लाई बताए ।