इलाम, १६ मंसिरः युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सीलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रम अन्र्तगत इलाम उद्योग वाणिज्य संघको आयोजना संचालन उन्मुख दिगो रोजगारीको लागि सीप विकास परियोजनाले इलाम जिल्लामा रहेको होटल व्यवसायमा आवश्यक पर्ने करिब ३ सय २० जना दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । ति जनशक्तिहरु होटल तथा आतिथ्यता व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने ‘रुम एटेन्डेन्ट’, ‘होटल एसिस्टेन्ट’, ‘वेटर/वेट्रेस’, ‘जेनरल कुक’, ‘कन्टिनेन्टल कुक’, ‘हाउस किपिङ’, ‘क्लिनर’, ‘रिसेप्सनिष्ट कम क्यासियर’, ‘जेनरल कुक’ लगायत हुनेछ । उनीहरुलाई संचालन हुन लागेको परियोजनाको साझेदार संस्था रत्नकुमार वान्तावा पोलिटेक्निकल इन्स्टिच्युट मार्फत ‘एडभान्स’ तालिम प्रदान गरिने र सो तालिम ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक रहने मंगलबार इलाममा आयोजना गरिएको गोष्ठीमा जानकारी गराईएको हो ।
बेरोजगार तथा रोजगारमा नवप्रवेशी युवा युवतीलाई रोजगारीका लागि सीप विकास तालिम मार्फत दक्ष जनशक्ति उत्पादन गरी श्रम बजारको आवश्यकता एवम मागलाई दक्ष जनशक्ति पुरा गर्नको लागि यो परियोजना शुरु गरिएको परियोजनाका प्रमुख राम रिमालले जानकारी दिएका छन् । रिमालका अनुसार परियोजना संचालन भएपछि इलाम जिल्लाको होटल क्षेत्रमा आवश्यकीय आतिथ्यता सत्कारको अहिलको क्रममा बृद्धि हुने, होटल व्यवस्थापनमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनेछ । यस परियोजनाले उक्त तालिममा छनौट हुने सहभागीहरुलाई इलाममा रहेको होटल व्यवसायमै काम गर्ने युवा युवती छनौट गरी इलाम र सुर्योदय नगरपालिकामा रहेका होटलहरुमा आवासिय तालिम प्रदान गरिने जनाईएको छ । करिब २ करोड २३ लाख ९७ हजार बजेट भएको यस परियोजनामा ७०.६३ प्रतिशत रकम कार्यक्रम र बाँकी रकम प्रशासनिक तथा संस्थागत विकासमा खर्चिने कार्यक्रममा जनाईएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, नेपाल नगरपालिका संघ १ नं प्रदेशका अध्यक्ष तथा इलाम नगरका प्रमुख महेश बस्नेत, माई नगरका मेयर दिपक थेवे, चुलाचुली गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राई, माङसेबुङ गाउँपालिकाका प्रम्ुख डिकेन्द्र इधिङ्गो, केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष आनन्द कट्टेल, होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल, नागरिक समाजका अगुवा धर्म गौतम, रत्नकुमार वान्ता पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख दिपक खनालल आफ्ना विचार र जिज्ञासाहरु प्रस्तुत गरेका थिए । इलाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष चेतनाथ पौड्ेलको अध्यक्षतामा गोष्ठी संचालन भएको थियो ।