इलाम, २९ साउनः विश्व महामारीको रुपमा रहकोे कोेराना भाईरस अर्थात कोभिड-१९ बाट प्रभावित इलाम जिल्लाका खेलाडी तथा रेफ्रीहरुलाई जिल्ला फूटबल संघ, इलामले बिहीबार एक कार्यक्रमको बिच राहत प्रदान गरेको छ । इलाम जिल्लामा रहेको १३ वटा फूटबल क्लबमा आवद्ध खेलाडी तथा जिल्लामा रहेका फिफा रेफ्री सहित ३० जना महिला तथा पुरुषहरुलाई जनही २ हजार पाँच सय रुपैंयाँको दरले राहत वितरण गरिएको जिल्ला फूटबल संघका उपाध्यक्ष ज्ञानबहादुर राईले “ग्रीन इलाम”लाई जानकारी दिएका छन् ।
विश्व फूटबल महासंघ (फिफा) तथा अखिल नेपाल फूटबल संघ (एन्फा) को आर्थिक सहयोगमा जिल्ला फूटबल संघ गठन भएको नेपालको ४८ वटा जिल्ला शाखा, काठमाडौंस्थित ‘ए’, ‘बि’, ‘सि’ र ‘डी’ वर्गको लिग प्रतियोगिता खेल्ने फूटबल क्लब तथा मोफसलमा प्रतियोगिताहरु आयोजना गर्ने फूटबल क्लबहरुलाई फिफा र एन्फाले कोभिड-१९ बाट अति प्रभावितबाट खेलाडी तथा रेफ्रीहरुलाई राहत उपलब्ध गराउन सहयोग गरिएको एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले बताए । कार्यक्रम जिल्ला फूटबल संघ, इलामका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।