कोरोना रोकथाम गर्न २२ हजार नयाँ सिमकार्ड ट्राकिङ गरिएको समाचार आजको नयाँपत्रिकाले लेखेको छ ।
नयाँपत्रिकामा लेखिएको छः
कोरोना भाइरस रोकथाम र नियन्त्रणको एकीकृत व्यवस्थापनका लागि सरकारले गत १६ चैतमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) गठन गरेको थियो । १९ चैतदेखि सञ्चालनमा रहेको सिसिएमसीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले गरेका छन् । छाउनीस्थित सेनाको महावीर (रेन्जर) रेजिमेन्ट हातामा स्थापित यो निकायले अहिले आपतकालीन सबै व्यवस्थापनको संयोजन गरिरहेको छ । सिसिएमसीले लकडाउनका समयमा सुरक्षाकर्मी परिचालन, आपूर्ति व्यवस्थापन, उपचार कक्षदेखि क्वारेन्टाइन तथा विदेशबाट आएकाहरूको निगरानी गरिरहेको छ ।
सिसिएमसीमा सेना, सशस्त्र, नेपाल प्रहरी तथा सरोकारवाला मन्त्रालयका अधिकारीहरू सहभागी छन् । सिसिएमसीले चार फाँटमा काम विभाजन गरेको छ । विभिन्न मन्त्रालयबाट काजमा खटिएका सहसचिवको नेतृत्वमा स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति, शान्तिसुरक्षा अनुगमन र नियन्त्रण अनि सूचना तथा प्रविधिसँग सम्बन्धित काम बाँडफाँट भएको छ । सिसिएमसीको प्रत्यक्ष मातहत र योजनामा सुरक्षाकर्मी परिचालित छन्, देशैभरि क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापन भएको छ । विदेशबाट आएकाहरूको निगरानी पनि सिसिएमसीअन्तर्गतको कल सेन्टरबाट भइरहेको छ । देशैभरि आपूर्ति प्रणाली सञ्चालनमा रहेको जनाइएको छ ।
२२ हजारको निगरानी २८ जना शंकास्पद बिरामी
सिसिएमसीअन्तर्गतको सूचना प्रविधि हेर्ने फाँटले गत १ चैतयता नेपाल टेलिकमको सिमकार्ड लिएकाहरूलाई फोन गरेर कोरोना भए–नभएको ट्रयाकिंग गरेको छ । सेनाको संयोजनमा २६ चैतदेखि कल सेन्टरमार्फत नयाँ सिमकार्ड लिएकाहरूलाई सम्पर्क गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार १ चैतदेखि हालसम्म नेपाल टेलिकमबाट पोस्टपेड र प्रिपेड सिम लिएका २२ हजारजनाको नम्बरमा सम्पर्क भइरहेको छ । अहिलेसम्म १२ हजारभन्दा बढी नयाँ सिमअनुसारको नम्बरमा सम्पर्क गरिएकामा सात हजार २७४ जना सम्पर्कमा आएका छन् । बाँकीसँग सम्पर्क गर्ने कोसिस भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।
टेलिफोन गर्ने क्रममा सेनाले सात सयजना विदेशबाट आएको पत्ता लगाएको छ । यीमध्ये २८ जनाले कोरोनासँग मिल्दोजुल्दो लक्षण आफूमा रहेको सेनालाई जानकारी दिएका छन् । यद्यपि, उनीहरूमा कोरोना भने पुष्टि भएको छैन । सुरुमा भोजपुर, दाङ, बर्दिया, कञ्चनपुर, बाग्लुङ, डोटी र दार्चुलामा रहेका व्यक्तिमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । यीमध्ये बर्दिया, भोजपुर, दार्चुला र डोटीका एक–एकजना निको भएका छन् ।
नेपाली सेनाका अनुसार टेलिफोनका क्रममा १ र २ वैशाखमा ६ जनालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । कैलालीका तीनमध्ये एकजना निको भएका छन् भने दुईजनाको उपचार भइरहेको छ । डडेल्धुरा र दाङका एक–एकजना उपचाररत छन् । सेनाले सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरूलाई उनीहरूका बारेमा विस्तृत विवरण उपलब्ध गराएको छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार ३ वैशाखमा थप पाँचजनालाई लक्षण देखियो । काभ्रेका एकजना निको भएका छन् भने दैलेख, झापा, बैतडी र अछामका एक–एकजनाको अवस्था सुधारोन्मुख देखिएको छ । ४ वैशाखमा तीनजना शंकास्पद बिरामी देखिए । बैतडीका दुईजना मध्ये एकजना भारतबाट आएका थिए । बाजुराका अर्का एकजनालाई पनि त्यस्तै लक्षण देखिएको छ ।
सिसिएमसीकै समन्वयमा औषधि खरिद प्रक्रिया टुंगोमा पुगेको हो । अर्थ मन्त्रालयले पनि बजेटको स्वीकृति दिइसकेको हुनाले मन्त्रिपरिषद्बाट भुक्तानीका बारेमा निर्णय हुनासाथ सामान आउने थप सुनिश्चित हुन्छ । – विज्ञानदेव पाण्डे प्रवक्ता, नेपाली सेना
शुक्रबार सेनाको सम्पर्कमा आएकामध्ये ६ जना शंकास्पद बिरामी देखिएका छन् । अछामका दुईजना भारतबाट आएकाहरूमा मिल्दोजुल्दो लक्षण देखिएको छ । डोटी, दार्चुला, बझाङ, बाजुरामा एक–एकजना बिरामी भेटिएका छन् । उनीहरूका बारेमा सम्बन्धित स्थानीय तहलाई सेनाले जानकारी गराइसकेको सैनिक प्रवक्ता पाण्डेले बताए । अहिलेसम्म उनीहरूमा कोरोना पुष्टि भएको छैन ।
सिसिएमसीअन्तर्गत शुक्रबार साँझसम्म देशभरिबाट १२ हजार १९२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । ६ हजार ६९ जनाको स्वाब संकलन गरेर काठमाडौं ल्याइएको छ । संक्रमित देखिएका र संक्रमण हुन सक्ने बढी सम्भावना देखिएका सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशको जुम्ला तथा गण्डकी प्रदेशको बाग्लुङ, कास्की तथा काठमाडौं उपत्यकालाई लक्षित गरेर स्वाब संकलन भएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए ।
सहज ढंगले खाद्यान्न,औषधि र इन्धन आयात
सिसिएमसीको समन्वयमा भारतबाट खाद्यान्न, ग्यास, इन्धन, तरकारी, मेडिकल सामग्री र औषधिको आयात नियमित रूपमा भएको छ । बिहीबार मात्रै भारतबाट १४५ मालबाहक गाडी आएका छन् । जसमा २८७६ मेट्रिकटन खाद्यान्न, ८१३ मेट्रिकटन दाल, १३ गाडीमा करिब चार करोड रुपैयाँबराबरको तयारी औषधि, दुई हजार १५ मेट्रिकटन फलफूल भित्रिएको छ । भारतबाट २५ चैतदेखि १ वैशाखसम्म २० हजार १७३ मेट्रिकटन प्रमुख खाद्यान्न आयात भएको छ । यही अवधिमा तरकारी १० हजार २२२ मेट्रिकटन आएको छ भने फलफूल दुई हजार २५५ मेट्रिकटन, चार करोड ८२ लाख रुपैयाँबराबरको औषधिका लागि कच्चा पदार्थ, २६ करोड ७२ लाख रुपैयाँबराबरको औषधि आयात भएको छ । सिसिएमसीको विवरणअनुसार २८ चैतदेखि ३ वैशाखसम्म दुई हजार ३२४ मेट्रिकटन एलपिजी ग्यास तथा एक हजार ६६४ किलोलिटर इन्धन आयात भएको छ ।
औषधि खरिदको यस्तो छ तयारी
सिसिएमसीले तयार गरेको ३९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री एवं उपकरण खरिद अन्तिम चरणमा पुगेको छ । सिसिएमसीले पहिलो चरणमा १२० प्रकारका औषधि र स्वास्थ्य सामग्री छिमेकी भारत र चीनबाट किन्ने स्वीकृति दिएसँगै सेनाले प्रक्रिया अघि बढाएको छ । सेनाले भारत र चीनलाई बिहीबार सम्झौतापत्र र शुक्रबार स्वीकृतिपत्र पठाएको छ । उनीहरूले सम्झौतापत्र र स्वीकृतिपत्रमा हस्ताक्षर गरेर पठाएपछि नेपालले अग्रिम भुक्तानी रकम पठाउनेछ । त्यसको एकसातामा भारत र चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी छ ।
सैनिक प्रवक्ता सहायकरथी पाण्डेले भने, ‘सिसिएमसीकै समन्वयमा खरिद प्रक्रिया टुंगोमा पुगेको हो । अर्थ मन्त्रालयले पनि बजेटको स्वीकृति दिइसकेको हुनाले मन्त्रिपरिषद्बाट भुक्तानीका बारेमा निर्णय हुनासाथ सामान आउने थप सुनिश्चित हुन्छ ।’ सेनाले भारतबाट ५३ प्रकारका औषधि र स्वास्थ्य सामग्री तथा चीनबाट ६७ प्रकारका स्वास्थ्य उपकरण ल्याउने तय गरिसकेको छ । पिपिई, एन ९५ मास्क, कोरोना जाँच्ने उपकरण ल्याउने सेनाको तयारी छ । सिसिएमसीमा सेनाका उपरथी अशोक सिग्देलले यसको संयोजन गरिरहेका छन् ।
३० हजार बेडको क्वारेन्टाइन ८९ हजार सुरक्षाकर्मी परिचालन
कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि देशैभर सेना, सशस्त्र र नेपाल प्रहरीका ८९ हजार ६०७ जना सुरक्षाकर्मी खटिएका छन् । यीमध्ये दैनिक गस्तीमा मात्रै ६५ हजार ८७७ सुरक्षाकर्मी छन् । सेनाको मात्रै दुई हजार ६७६ जनाको मेडिकल टिम परिचालित भएको छ । नेपाल प्रहरीका १४ हजार ९३९, सशस्त्रका चार हजार १२३, अनुसन्धान विभागका एक हजार ९१९ जना परिचालित छन् ।
सेनाका स्वास्थ्य टोलीमध्ये क्वारेन्टाइनमा ६०६ जना, आइसोलेसन वार्डमा १४३ जना, हेल्थ डेस्कमा ६१२ जना, ¥यापिड डाइग्नोस्टिक टिममा ७५५ जना र प्यासेन्ट रिसिभिङ टिममा ३४१ जना खटिएको सैनिक प्रवक्ता सहायकथी विज्ञानदेव पाण्डेले जानकारी दिए । दैनिक रूपमा औसत ८५० भन्दा बढी गस्ती देशैभरि हुन थालेको छ । शुक्रबार सबै सुरक्षा निकायको ९११ वटा गस्ती भएको छ । बिहीबार ८६९ वटा टोलीको गस्ती बढाएको थियो । सशस्त्र प्रहरीले नेपाल–भारत सिमानाका १०६८ स्थानबाट आवतजावतमा कडाइसहित निगरानी गरिरहेको छ । सशस्त्रका ६ हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । नेपाल–भारत सीमा नाकामा नेपालतर्फ ६६१ जना भारतीय छन् भने भारततर्फ २२३० नेपाली नागरिकहरू क्वारेन्टाइनमा छन् ।
देशैभरि ३० हजार ५७० बेडको क्वारेन्टाइन र ३०५८ वटा आइसोलेसन वार्ड तयार छ । क्वारेन्टाइनमा चार हजार ९०१ जना छन् भने आइसोलेसनमा जम्मा ९५ जना छन् । यसबाहेक सेनाले आफ्ना ब्यारेक हातामा चार हजार ६२१ बेडको क्वारेन्टाइन बनाएको छ । सेनाका क्वारेन्टाइनमा ८८१ जना छन् । बिदा सकेर ब्यारेक फर्केका सैनिकलाई सेनाले दुई साता क्वारेन्टाइनमा राखेर मात्रै काममा खटाउने गरेको छ । सरकारले प्रदेश सरकारहरूसँगको समन्वयमा कोरोना प्रयोजनका लागि सुरक्षा र व्यवस्थापनको जिम्मा सेनालाई दिएको छ । प्रदेश सरकारको अनुरोधमा सेनाले देशभरिका जम्मा १४ जिल्लाका २३ स्थानमा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन सहयोग गरेको छ ।
सशस्त्र प्रहरी अस्पतालमा २० बेडको आइसियू बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । हाल ६ बेडको आइसियू छ । सरकारले एपिएफ अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालमा परिणत गरेको छ । त्यहाँका बिरामीलाई २२ चैतमा सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याएको छ । आइसियू निर्माणको समन्वय सेनाले गरिरहेको छ । सेनाले छाउनीमा ८० बेडको हाइकेयर आइसियू, २० बेडको अक्सिजन केयर, ३० बेडको आइसोलेसन वार्ड बनाएको छ ।
एम्बुलेन्सदेखि अत्यावश्यक सवारी सञ्चालन
सिसिएमसीमातहत स्वास्थ्य मन्त्रालय, काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच एम्बुलेन्स सञ्चालनका लागि सम्झौता भएको छ । काठमाडौंमा एम्बुलेन्स सेवाका पाँच, काठमाडौं महानगरपालिकाको एक र स्वास्थ्य मन्त्रालयका चार गरी जम्मा १० वटा कोभिड–१९ मैत्री एम्बुलेन्स सेवा सुरु भएको छ । एम्बुलेन्समा सेना, सशस्त्र र नेपाल प्रहरीबाट चार–चारवटा इमर्जेन्सी मेडिकल टेक्निसियन टिम तयारी अवस्थामा राखिएको छ । सिसिएमसीका अनुसार सबै जिल्लामा कम्तीमा दुईवटा र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा पाँचवटा एम्बुलेन्स स्ट्यान्डबाई राखिएको छ ।
काठमाडौं उपत्यकाबाहेक हालसम्म प्रदेशले १६ अस्पताललाई कोरोना उपचारका लागि प्रदेशस्तरीय डेडिकेटेड अस्पताल तोकेको छ । सरकारले खाद्यान्न, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्वाध रूपमा गर्न दिएको तथा त्यस्ता सामग्रीहरू ढुवानीका लागि सवारी पास आवश्यक नपर्ने व्यवस्था मिलाएको सिसिएमसी सचिवालयले जनाएको छ । उपत्यकामा कालिमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न उपत्यकाभित्र ११ स्थानमा तरकारी तथा फलफूल बिक्रीवितरण केन्द्र सुचारु भएका छन् ।