बैसाख १२, इलाम : करुणा फाउण्डेसन इलामले इलामका १० वटै स्थानीय निकायहरुमा कोरोनासँग लड्नका लागि विभिन्न सामाग्री वितरण गरेको छ । करुणा फाउण्डेसनले प्रत्येक तहमा ३ थान पिपिई, ३ थान थर्मल गन (इन्फ्रारेड थर्मोमिटर), १० थान एन नाइन्टीफाईब माक्स, ८ बट्टा सर्जिकल ग्लोभ्स, ८ बट्टा इक्जामिनेसन ग्लोभ्स, ८ लिटर सेनिटाइजर र ३२ पिस डेटोल साबुन उपलब्ध गराएको हो ।
कोरोना डिफेन्सिभ मटेरियल हालको आवश्यकता भएकोले ती सामाग्रीहरु वितरण गरिएको करुणा फाउण्डेसनका प्रकाश घिमिरेले ग्रीन इलामलाई बताए । जिल्ला समन्वय समितिको पुरानो सभाकक्षमा आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा इलामका १० वटै तहका प्रमुखहरुलाई करुणा फाउण्डेसनका म्यानेजर अजित योञ्जनले ती समाग्री हस्तान्तरण गरे । लकडाउनका कारण परियोजनाका गतिविधिलाई पहिले झै सञ्चालन गर्न नसकेको अवस्थामा समयसापेक्ष सहयोग स्थानीय निकायलाई गरिएको करुणा फाउण्डेसनका म्यानेजर अजित योञ्जनले बताए । उनले भने, ‘सामग्रीहरुको स्थानीय निकायहरुले सदुपयोग गर्नेमा मैले विश्वास लिएको छु ।’
विश्व नै शंकटको घडीमा रहेको बेला यस्तो प्रकारको सहयोगले कोरोना नियन्त्रणमा टेवा पुग्ने माङ्सेबुङ गाउँपालिकाका प्रमुख डिकेन्द्र इधिङ्गोले बताए । उनले भने, ‘स्थानीय तहमा रहेका सबै स्वास्थ्य केन्द्रहरुमा यस्ता समाग्रीहरु अभाव भएको बेला प्राप्त भएको सहयोगले राहत भएको छ ।’ करुणा फाउण्डेसनले इलाममा विगत चार बर्षदेखि अपाङ्गता भएका मानिसहरुको लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।