इलाम, २७ फागुनःझापाको मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतंक मच्चाउन थालेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । ‘बारीको त कुरा छाडौँ, पकाएर राखेको भात पनि खान पाउन छाडियो’, उनले भनिन्, ‘हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन । बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।’ उनले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताइन् ।
बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताएन् । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उनको भनाइ छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताए । उनले हाल बाहुनडाँगीमा जङ्गली हात्तीको आतंकभन्दा बाँदर आतंक बढी भएको बताए । ‘हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो’, उनले भने, ‘बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौं ।’
उनले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पुर्याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताए । उनले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बीमा गरिदिने सोच राखेको बताए ।